
करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीमा आधारित रहेको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मले नेपालको तत्कालिन ग्रामीण जीवनलाई जीवन्त रुपमा प्रस्तुत गरेको र त्यो अहिलेको युवापुस्ताले बुझ्न आवश्यक रहेको निर्देशक तथा निर्माता निरंजन कसजू (माइला)ले बताए ।

असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनका लागि अनुमति दिएको छ । गत बुधबार सेन्सर बोर्डले फिल्ममा समावेश बेडसिन, चुम्बन तथा हिंसाको दृश्यमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिएको थिएन । बोर्डले आपत्ति जनाएको दृश्य मेकरले परिमार्जित गरेपश्चात् शुक्रबार फिल्मले जाँचपासको प्रमाणपत्र पाएको हो ।

टेक पौरखी राईको निर्देशन रहेको फिल्म ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १० सेकेन्डको टिजरमा प्रेम, मित्रता र द्वन्द्वलाई समेटिएको छ । विशेषगरी अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतको प्रेममा आउने उतार-चढावमा टिजर केन्द्रित छ । माओत्से गुरुङ र निशा अधिकारी जोडीको रुपमा प्रस्तुत टिजरमा अर्पण थापा र सलोनबीच द्वन्द्वात्मक दृश्य पनि छ ।

आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । ‘जीवन भनेको’ बोलको क्लब गीतमा केतन क्षेत्रीको स्वर, केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना छ । फिल्मकी मुख्य पात्र आभ्या (शिल्पा मास्के)को जन्मदिनको सेटअपमा तयार पारिएको गीतले फिल्मको कथालाई पनि प्रस्ट्याएको निर्माण टिमको भनाई छ ।

नेपाली फिल्मका चल्तीका अभिनेताद्वय प्रदीप खड्का र पल शाहलाई एउटै फिल्ममा हेर्ने दर्शकको इच्छा अब पूरा हुने भएको छ । दिनेश राउतको निर्देशनमा बन्न लागेको एक फिल्ममा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । नाम तय नभैसकेको फिल्ममा उनीहरु दुवै प्रोटागोनिस्ट पात्रको रुपमा रहने लेखक विकास सुवेदीले जानकारी दिए । फिल्ममा दुवैको बराबर भूमिका रहनेछ ।

फिल्ममा सर्वाधिक रुचाइएको जोडी हो, दयाहाङ राई र बुद्दि तामाङ । फिल्म ‘कबड्डी’ सिरिजमा केमेस्ट्री रुचाइएपछि उनीहरुले निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । प्रायः फिल्ममा दयाहाङको ‘ब्याक बोन’को रुपमा बुद्दि प्रस्तुत हुने गरेका छन् । अब यो जोडी फिल्म ‘कार्साङ’मा पनि एकसाथ देखिने भएको छ । दयाहाङपछि बिहीबार बुद्दि फिल्ममा अनुबन्धित भएका छन् ।