

सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’लाई सिरिजको रुपमा अगाडि बढाइने भएको छ । आगामी चैत वा बैशाखदेखि यसको दोस्रो श्रृंखलाको छायांकन गर्ने तयारी गरिएको छ । फिल्ममा अघिल्लो श्रृंखलाका प्रमुख अभिनेता प्रदीप खड्का दोहोरिने लगभग निश्चित छ । उनीसँग निर्माण टिमको विभिन्न चरणमा कुराकानी भैसकेको छ । र, उनी फिल्मलाई लिएर सकारात्मक छन् ।

बलिउड सुपरस्टार अमिताभ बच्चन र साउथ फिल्मका सुपरस्टार कमल हासनले ३८ वर्षपछि फिल्ममा एकसाथ काम गर्ने भएका छन् । उनीहरुले नाग अश्विनको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रोजेक्ट के’मा काम गर्न लागेका हुन् । यसै हप्ता कमल फिल्ममा अनुबन्ध भएका हुन् । फिल्ममा उनी भिलेनको भूमिकामा प्रस्तुत हुनेछन् । अमिताभ गत वर्ष नै फिल्ममा अनुबन्धित भएका थिए ।

यही असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बगान’को आइतबार नयाँ गीत सार्वजनिक गरिएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको स्याड भर्सनको गीतमा सुरेश वाग्लेको शब्द रचना, हरी लम्सालको संगीत तथा अञ्जु पन्तको स्वर छ । गीतमा अभिनेत्री करिश्मा मानन्धरलाई विशेष प्राथमिकता दिइएको छ । यस गीतले एकल महिलाको मनोभावलाई दर्शाउन खोजेको छ ।

अहिले देशमा दुई ठाउँका मेयर सर्वाधिक चर्चामा छन् । उनीहरु हुन्, काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र) र धरान उपमहानगरका मेयर हर्क सम्पाङ । यी दुई मेयरको चर्चाबीच निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ बनाउने भएका छन् । फिल्म कुनै मेयरको जीवनमा आधारित नभए पनि बालेन र हर्कले गरेको कामलाई नै पर्दामा उतार्ने तयारी भैरहेको बुझिएको छ ।

करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीमा आधारित रहेको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मले नेपालको तत्कालिन ग्रामीण जीवनलाई जीवन्त रुपमा प्रस्तुत गरेको र त्यो अहिलेको युवापुस्ताले बुझ्न आवश्यक रहेको निर्देशक तथा निर्माता निरंजन कसजू (माइला)ले बताए ।