
‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा सुनामी ल्याएपछि त्यसको भयले दुई चरणमा ट्रेलर समेत सार्वजनिक भइसकेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन नै स्थगन गरियो । फिल्मलाई गत कात्तिक ३० गते प्रदर्शनको तयारी गरिएको थियो । अब यो फिल्म आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माताले नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् ।

अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक साढे २ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । सस्पेन्स र थ्रिल मिश्रित ट्रेलरमा गोर्खाल्यान्डका लागि भएको संघर्षलाई देखाइएको छ । सौगातको पात्र विद्रोही र रहस्यमयी देखिन्छ ।

फिल्म ‘अञ्जिला’बाट अभिनयमा समेत होमिएकी राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाका लागि निर्माताले फिल्मबाट हुने कमाइले काठमाडौंमा घर बनाइदिने भएका छन् । बुधबार एञ्जिलालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउबाट फुटबल खेल्नका लागि विशेष सम्मानसहित विदाई गर्दै निर्माता प्रेम कुमार श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।

आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक २ मिनेट २५ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । गरिबी र अभावले पिल्सिएको झाँक्रीको परिवारले जीवन चलाउन गरेको संघर्षलाई टिजरमा देखाइएको छ । अभिनेता दयाहाङ राई झाँक्रीको भूमिकामा प्रस्तुत छन् ।

९ वर्षअघि प्रदर्शनमा आएको ‘रेशम फिलिली’को दोस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘फेरि रेशम फिलिली’को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा ३५ दिन खिचेपछि मंगलबार फिल्म ‘प्याकअप’ भएको हो । फिल्मलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।

यतिबेला अघिल्ला पुस्ताका स्थापित कलाकारहरुको कमब्याकको लहर चलेको छ । राजेश हमाल, विराज भट्ट, राजबल्लभ कोइराला जस्ता कलाकारहरुले कमब्याक गरिसकेको अवस्थामा अब ‘एक्सन स्टार’को रुपमा कहलिएका निखिल उप्रेती पनि करिब ५ वर्षपछि फिल्ममा फर्किने तयारीमा जुटेका छन् । उनले अर्को वर्ष आफ्नै निर्देशनमा फिल्म बनाउन लागेका हुन् ।

