
यतिबेला अभिनेत्री साम्राज्ञी आरएल शाहको करिअर सन्तुलित छैन । श्रृंखलाबद्ध रुपमा उनका फिल्म असफल भइरहेका छन् । ७ वर्षमा उनका ७ वटा फिल्म चलेनन् । अब उनको करिअर कसरी अगाडि बढ्छ भन्नेमै अन्योल देखिन्छ । डेब्यु फिल्म ‘ड्रिम्स’पछि उनी सर्वाधिक डिमान्डेड र महंगी अभिनेत्री बनेकी थिइन् । तर, फिल्म छनोटमा चुक्दा उनको करिअर नै संकटमा परेको छ ।

घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेका दशैंका दुई फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’का निर्माताबीच शितयुद्ध जारी छ । रिलिजपूर्व ‘छक्का पञ्जा ५’का हरेक प्रचार सामाग्रीमा ‘१२ गाउँ’को मात्र नाम आएपछि कलाकार दीपकराज गिरीले त्यसलाई ‘साइबर सेना’को संज्ञा दिएका थिए । उनको यो अभिव्यक्तिबाट चिढिएका अभिनेता विराज भट्टले फिल्मको व्यापार बम्पर भएपछि ‘साइबर सेना’ भन्नेहरुलाई हलमा आएर हेर्न चुनौती नै दिए ।

निर्देशक शंकर घिमिरे कमब्याक फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति नजिकिँदै गर्दा श्रृंखलाबद्ध रुपमा पोस्टर तथा गीत सार्वजनिक भइरहेका छन् । ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीतपछि मंगलबार फिल्मको तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरियो । अमेरिकामा खिचिएको गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । बाबु साहेब बलामी निर्देशित फिल्मको मंगलबार सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । गाउँलेको रक्षाका लागि एक पात्रले गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको टिजरले जनाउँछ । अभिनेता कुन्दन भारद्वाजलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

विश्वका प्रतिष्ठित भेनिस, बुसान, ह्याम्बर्ग, मुम्बई फिल्म फेस्टिभलमा आफ्नो प्रभाव छाडेको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘राजागञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसै साता मुम्बई फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्मलाई आगामी चैत १ गते प्रदर्शन गरिने निर्माण कम्पनी आदि फिल्म्सले जनाएको छ । फागु पूर्णिमाको अवसरमा फिल्म रिलिज हुन लागेको हो ।

अभिनेता सलोन बस्नेतले आफ्नो नयाँ फिल्म ‘रंगी’को छायांकन सुरु गरेका छन् । मंगलबार काठमाडौंको नक्सालमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन थालिएको हो । फिल्मको छायांकन अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकाभित्र हुनेछ । सलोन स्वयं प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक सुरेश न्यौपाने हुन् ।

