
म्यूजिक भिडियोपछि अब माइकल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको निर्देशनमा फिल्म ‘राम नाम सत्य’ बन्न लागेको हो । श्री स्वस्थानी व्रतकथा प्रारम्भको अवसर पारेर बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको फिल्मको निर्मातामा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवाल छन् । फिल्मका लागि कलाकार छनोटको प्रक्रिया भइरहेको चन्दले बताए ।

१५ वर्ष फिल्म निर्माणको अनुभवपछि कृषा चौलागाईंले ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । अब उनी अर्को नयाँ फिल्म निर्देशनको तयारीमा जुटेकी छन् । यही माघ अन्तिम साताबाट छायांकन गर्न लागिएको फिल्मका लागि यतिबेला कृषा छायाँकार पुरुषोत्तम प्रधान, लेखक प्रदीप भारद्वाज र अभिनेता प्रमोद अग्रहरीको साथमा तराईका विभिन्न ठाउँमा ‘लोकेशन’ हेरिरहेकी छन् ।

अभिनेत्री रेजिना उप्रेतीले ९ वर्षको अन्तरालपछि फिल्ममा कमब्याक गर्ने भएकी छन् । शंकर कोइरालाको निर्देशनमा बन्न लागेको फिल्म ‘मोदीबेनी’बाट उनले कमब्याक गर्ने निश्चित भएको हो । पछिल्लोपटक फिल्म ‘बरदान’मा मुख्य भूमिकामा देखिएकी उनी चलचित्र कलाकार संघमा दुई कार्यकाल उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष थिइन् । उनी कमब्याकलाई लिएर उत्साहित देखिएकी छन् ।

धेरै नेपाली फिल्ममा सहायक निर्देशक भएर काम गरेका विनयराज पौडेलले अब आफैं निर्देशनको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनको डेब्यू निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्न लागेको हो । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ । पोस्टरमा एक पात्रले शरीर पछाडि खुकुरी लिएर उभिएको देखिन्छ । यसले फिल्म एक्सन प्रधान रहने संकेत गर्छ ।

फिल्म (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फिल्मसम्बन्धी विधेयकलाई अन्तिम रुप दिन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सञ्चार मन्त्रालयलाई विधेयकको मस्यौदा अगाडि बढाउन बाटो खुलेको छ ।

तीन ‘स्टार’ नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक फिल्म ‘पूजार सार्की’मा एकसाथ काम गर्दैछन् । यसैले निर्माण अगावै फिल्मको चर्चा उत्कर्षमा छ । फिल्मले व्यावसायिक रेकर्ड बनाउन सक्ने प्रक्षेपण पनि सुरु भएको छ । यो निर्माण टिमका लागि भने ठूलो चुनौती हो । ‘स्टारकास्ट’का कारण फिल्मप्रति चुलिएको अपेक्षामा खरो उत्रिनुपर्ने दबाब निर्माण टिममा छ ।