
हाल प्रदर्शनरत फिल्म ‘एक्टर : टेक वन’बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री दिव्या रायमाझीले नयाँ फिल्म ‘माया प्रीति’मा मुख्य भूमिका निभाउने भएकी छन् । बुधबार फिल्मका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले उनीसँग लिखित सम्झौता गरेका हुन् । दिव्याले आफूले खोजेजस्तै कथा भएकाले फिल्ममा अभिनयका लागि राजी भएको बताइन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ । संवाद फाउन्डेसनले आगामी फागुन १६ गतेदेखि १८ गतेसम्म तीन दिन जनकपुरमा महोत्सव गर्न लागेको हो । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच महोत्सवको बारेमा जानकारी गराइयो । महोत्सवमा अहिलेसम्म ११४ बढी देशका फिल्महरुले आवेदन दिइसकेको जनाइएको छ ।

आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ (ए सानु) सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा सुशान्त गौतमको शब्द रचना तथा संगीत छ भने इन्द्रकला राईको पार्श्व गायन छ । गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपाल’को सिजन ६ मा सहभागी भएसँगै चर्चामा छिन् । यसअघि उनले गाएको ‘बार्दली’ गीत निकै चर्चित छ ।

आगामी फागुन २ गते (भ्यालेनटाइन डे)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’को अघिल्लो साता सार्वजनिक ट्रेलरमा एउटा दृश्य छ, जसमा अभिनेता सलोन बस्नेतले मन्दिरमा एक युवतीसँग विवाह गरेको देख्न सकिन्छ । तर, ती युवती को हुन् भन्ने गोप्य राखिएको थियो । मंगलबार शीर्ष गीतले त्यो रहस्य खुलाएको छ । ती युवती अरु कोही नभएर अभिनेत्री मलिका महत हुन् ।

भेट्रान निर्देशक तुलसी घिमिरेले आफ्नो कमब्याक फिल्म ‘पहाड’को छायांकन सुरु गरेका छन् । मंगलबार ऐतिहासिकस्थल गोर्खा दरबार परिसरमा मुहूर्त पूजा गरेपछि फिल्मका मुख्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र अभिनेत्री पञ्चमी घिमिरेको पहिलो सट लिइएको थियो । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।


