
ऋषिराज आचार्यको निर्देशनमा तयार भएको फिल्म ‘द्रोपदी’को पहिलो गीत ‘कर्णाली काटौँला’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता रवि ओडको स्वर छ भने उनलाई इन्द्रकला राईले साथ दिएकी छन् । निर्देशक आचार्य स्वयंको शब्द रचना रहेको गीतमा गायक ओडको संगीत छ । गीत रोमान्टिक भावको छ ।

शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । ज्योतिषबाट साइत जुराएर बिहीबार साँझ ५ः५५ बजे सार्वजनिक १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान मरिहत्ते गर्ने पात्रहरूको कथा पेस गर्छ । रेशम पात्रको अमेरिकाको भिसा लागेपछिको परिस्थितिलाई टिजरले चित्रण गरेको छ ।

बाल विवाह र महिला हिंसाविरुद्धको कथामा बनेको फिल्म ‘जुनाः एक व्यथा’ च्यारिटी शोमा दर्शक बेहोस भएको घटनाले चर्चामा छ । थुप्रैपटक च्यारिटी शो भइसकेको फिल्म हेरेर केही ठाउँमा दर्शक बेहोस भएका थिए । यसपछि फिल्मप्रति दर्शकमा चासो बढेको थियो । अब भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको देशभरका मल्टीप्लेक्सहरुले बुकिङ खुला गरेका छन् ।

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को पहिलो गीतको रुपमा बिहीबार ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । लोकलयको यो गीत निर्माण टिमले फिल्म प्रचारका लागि मात्र तयार पारेको हो । आशिष अविरल र शान्तिश्री परियारको युगल गायन रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना छ भने कृष्ण भारद्वाजले संगीत दिएका छन् ।

फिल्म ‘ऐश्वर्य’बाट डेब्यु गरेकी दीपिका प्रसाईं ‘छक्का पञ्जा ३’ जस्तो सफल फिल्मको समेत हिस्सा बनिसकेकी छन् । तर, निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएपछि केही समय अभिनयमा निस्क्रियजस्तै देखिएकी उनी अब नयाँ फिल्म ‘मायावी’बाट पुनरागमन गर्दैछिन् । यो फिल्मको छायांकन हुँदा उनी गर्भवती थिइन् । यसैले पनि दीपिकाका लागि यो फिल्म एकदमै विशेष छ ।

यही माघ २५ गते अर्थात् भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ममी’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार सुन्धारास्थित क्यूएफएक्सको सिभिल हलमा गरिएको प्रिमियरमा उपस्थित प्रायःले हरर-थ्रिलर जनरामा बनेको अहिलेसम्मको उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिए । फिल्म हेरेका धेरैले फेसबुकमा पनि यही वाक्य उल्लेख गरेका छन् ।

