
एउटा कहावत् छ, ‘फिल्ममा छिर्नभन्दा टिक्न बढी मुश्किल हुन्छ ।’ एक त प्रतिस्पर्धाको क्षेत्र, लगभग हरेक नयाँ फिल्मबाट विकल्प जन्मिरहेका छन् । त्यो भीडमा आफूलाई अब्बल सावित गर्नु अनिवार्य सर्त हो । त्यसमाथि फिल्मको व्यावसायिक पाटोले ठूलो अर्थ राख्छ । यी सबै कुराको तारतम्यता मिल्दा मात्र एउटा कलाकारको करिअर सन्तुलित बन्छ । जुन कमैको हकमा यो सम्भव हुन्छ ।

भगवान् शिवकी पहिलो पत्नी सतीदेवीको नाममा फिल्म बनाइसकेका निर्देशक लक्ष्मण सुवेदीले अब शिवकी दोस्रो पत्नी पार्वतीको नाममा पनि फिल्म बनाउने भएका छन् । शुक्रबार आफ्नो जन्मदिनको अवसरमा उनले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मलाई अर्को वर्षको शिवरात्रीमा प्रदर्शन गरिने भएको छ ।

तमिल सुपरस्टार थलापति विजय अब राजनीतिमा आएका छन् । त्यसका लागि उनले शुक्रबार आफ्नो पार्टीको घोषणा गरेका छन् । ‘तमिझागा वेत्री कझगम’ नाम राखिएको उनको पार्टी भारतीय निर्वाचन आयोगमा दर्ता भैसकेको छ । सन् २०२६ मा हुने विधान सभामा उनको पार्टीले चुनाव लड्ने समेत घोषणा गरिएको छ । यसै वर्ष हुने लोकसभा चुनावमा भने उनको पार्टी तठस्थ रहनेछ ।

अमेरिकामा फिल्म ‘भूठान’को एक हप्ता लामो छायांकन भ्याएर बुधबार काठमाडौं आइपुगेका अभिनेता दयाहाङ राई शुक्रबारबाट फिल्म ‘मनसरा’को छायांकनमा जोडिएका छन् । बिहीबार भने उनले यही माघ २६ गतेबाट एकसाथ प्रदर्शनमा आउन लागेका आफ्ना दुईवटा फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’को प्रचारका लागि समय निकालेका थिए । दुवै फिल्मप्रति उनको उत्साह देखिन्थ्यो ।

अभिनेता माओत्से गुरुङले ‘दयारानी’मार्फत् मूलधारको फिल्म निर्देशनमा परीक्षा दिएका छन् । यही माघ २६ गतेदेखि प्रदर्शन हुन लागेको फिल्ममा उनले निःसन्तान दम्पतीको कथालाई उठाएका छन् । यो फिल्म उनले ५ वर्षअघि नै बनाएका हुन् । तर, देशको अवस्था र कोरोना महामारीका कारण फिल्म रिलिजमा ढिलाई भयो । यद्यपि, फिल्मको कथा सदाबहार रहेको उनको दाबी छ ।

नेपाली फिल्मको नियति के छ भने नआउँदा एउटै नआउने, आएपछि आ-आफैं जुध्ने गर्छन् । गत कात्तिकयता एक-एक महिनामा फिल्म रिलिज भए र आ-आफैं जुधेर सकिए । कात्तिकपछि मंसिर २९ गते ‘जम्प र ‘दुई कदम’, पुष २७ गते ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ प्रदर्शन भए । अब यसको एक महिनामा अर्थात् यही माघ २६ गतेबाट ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आउँदैछन् ।