
‘मनसरा’का शीर्ष अभिनेता प्रवीण खतिवडा र कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’की अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने फिल्म ‘डोरी’को मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा, क्ल्याप बोर्ड र स्क्रिप्ट पूजा गरिएको हो । छायांकन भने आइतबारबाट सुरु हुने निर्देशक अरुण लामाले जानकारी दिए ।

यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बुधबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट उनीहरुले अवार्ड ग्रहण गरे । उनीहरुले यसअघि पनि राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् ।

दीपावलीमा प्रदर्शन भएका दुई बलिउड फ्रेन्चाइज फिल्म ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’ले भीडन्तका बाबजुद इनिसियल व्यापार आक्रामक गरे । दुई फिल्मलाई टक्करको ओपनिङ मिलेको थियो । पहिलो हप्तामै दुवै फिल्मले डेढ सय करोडको आँकडा नघाएका भए । दोस्रो र तेस्रो हप्ता पनि व्यापारिक गति राम्रो रह्यो । अब भने दुवै फिल्म हलबाट उत्रने संघारमा पुगिसकेका छन् ।

गत कात्तिक ३० गतेबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘ह्रस्व दीर्घ’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । निर्माताको दावीअनुसार फिल्मको कमाई ७ करोडमाथि पुगिसकेको छ । दोस्रो हप्तामा पनि राम्रो अकुपेन्सी हासिल गरिरहेको फिल्मको अब विदेश प्रदर्शन सुरु हुने भएको छ । बिहीबारबाट अष्ट्रेलिया र मध्यपूर्वका देशमा फिल्म प्रदर्शन हुन लागेको हो ।


गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को सुरुवाती व्यापार अपेक्षित हुन सकेन । पहिलो दिन नै देशभर अकुपेन्सी कमजोर रह्यो । शनिबार व्यापारमा केही सुधार देखिए पनि त्यो उत्साहप्रद थिएन । आइतबार फिल्मको अकुपेन्सी दरमा झनै गिरावट देखियो । तर, सुरुवाती व्यापार अपेक्षित नभए पनि सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव विस्तारै देखिन थालेको छ ।

