
घोषणाको ५ वर्षपछि निर्देशक ऋषिराज आचार्यले फिल्म ‘द्रौपदी’को छायांकन सुरु गरेका छन् । बिहीबार डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभमुहूर्त गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । महिलाप्रधान विषयमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको कथा, पटकथा तथा संवाद छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गर्दै फिल्म निर्माण गरिने उनको भनाई छ ।

बिहीबारदेखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण काठमाडौंमा सुरु भएको छ । महोत्सवमा ४० देशका ८८ फिचर, लघु र वृत्तचित्र प्रदर्शनसँगै विभिन्न छलफल सत्र पनि आयोजना गरिएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालले करिब २ घण्टा फिल्म र अन्य विषयमा केन्द्रित भएर संवाद गरे ।

यतिबेला ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म हो, ‘पूजार सार्की’ । यसमा तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक एकसाथ काम गरेका छन् । जातीय विभेदविरुद्धको कथामा आधारित यो फिल्ममा प्रदीप दलित युवकको भूमिकामा छन् । दमाहा बजाउने दमाई पात्रमा उनले अभिनय गरेका छन् । केही दिनअघि सार्वजनिक उनको लुक्स चर्चामा छ ।

अहिले एउटा फिल्म बनाउन कम्तिमा डेढ/दुई करोड लाग्छ । र, त्यो हलबाटै उठाउन ४ करोडमाथि कमाउनैपर्छ । वर्षमा एकाध फिल्मले मात्र यो आँकडा छुन्छन् । यसैले पनि फिल्म निर्माणकै बेलादेखि लगानी उठाउन निर्माताले व्यावसायिक कम्पनीहरुसँग सहकार्य गर्ने गरेका हुन्छन् । फिल्ममार्फत् कुनै कम्पनी वा उत्पादनको प्रवर्द्धन गरेबापत निर्मातालाई आकर्षक रकम हात पर्छ ।

गत शुक्रबार (महाशिवरात्रि)बाट प्रदर्शनरत अर्जुन सुवेदी निर्देशित फिल्म ‘रङ्गेली’को ‘फूल ओइलिएर’ गीत सार्वजनिक गरिएको छ । गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ भने निर्देशक सुवेदी स्वयंको शब्द रचना छ । फिल्मभित्रका चल/अचल दृश्य समावेश यो गीतले प्रेम र मित्रतामा आएको संकटलाई व्यक्त गर्छ । फिल्ममा गीतलाई कथावाचनको रुपमा समावेश गरिएको छ ।

बलिउडले दुई हप्ताको अन्तरमा दुईवटा हिट फिल्म पाएको छ । गत फेब्रअरी २३ मा रिलिज भएको फिल्म ‘आर्टिकल ३७०’ झण्डै ७० करोड कमाउँदै यस वर्षको हिट सावित हुँदा गत शुक्रबारबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘शैतान’ले सिर्फ ६ दिनमै हिटको रेकर्ड बनाएको छ । फिल्मले विकेन्डमा नै सानदार कमाई गरेको थियो । तीन दिनमा फिल्मको कमाई ५५ करोड नाघेको थियो ।