
टिकटकबाट उदाएर म्यूजिक भिडियोमा राम्रो सफलता पाएकी मोडल प्रिन्सी खतिवडालाई अब फिल्ममा देख्न पाइने भएको छ । त्यो पनि अनमोल केसीको जोडी बनेर । अभिनेता भुवन केसीको निर्देशनमा बन्न लागेको फिल्म ‘बाटुलो जून’बाट उनले डेब्यु गर्न लागेकी हुन् । उनलाई निर्माण टिमले अडिसनबाट छानेको हो । एक साताअघि प्रिन्सीसहित १५ जनाको अडिसन लिइएको थियो ।


शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । यद्यपि, दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ । सहकारी ठगीजस्तो संवेदनशील विषय र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकहरूले प्रशंसा गरेका छन् । यो किसिमको प्रतिक्रियाले फिल्मको व्यापारमा विस्तारै बढोत्तरी हुने अपेक्षा गरिएको छ ।

यही असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को तीनवटा अमेरिकी सहरमा विशेष प्रदर्शनी गरिएको छ । कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्ग सहरमा गरिएको विशेष शोमा फिल्म हेर्ने नेपालीहरुको उपस्थिति उल्लेख्य रहेको थियो । सोमबार साँझ पिट्सबर्गमा भएको शोमा त कतिले हलमा सिट नपाउँदा उभिएर समेत फिल्म हेरेका थिए ।

‘प्रेमगीत’पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबीच एकपटक फेरि सहकार्य हुँदैछ । गत वर्ष सुदर्शनले आफ्नो नयाँ फिल्मका लागि प्रदीपसँग लिखित सम्झौता गरेका थिए । तर, फिल्मको नाम सार्वजनिक गरिएको थिएन । यसै साता निर्देशक थापाले चलचित्र विकास बोर्डमा ‘शुभ विवाह’ शीर्षकमा फिल्म दर्ता गरेका छन् । जसमा प्रदीपको नाम कलाकारमा राखिएको छ ।

‘छक्का पञ्जा ४’को सफलतापछि अभिनेत्री बेनिशा हमालको फिल्ममा व्यस्तता निकै बढेको छ । यतिबेला उनलाई फिल्ममा भ्याइनभ्याइकै अवस्था छ । गत वर्ष मात्र उनले ‘सिटामोल’, ‘कल्ली’, ‘मोहर’ र ‘एक्लो’ गरी चारवटा फिल्मको छायांकन सकाइन् । गत महिना ‘बिगुल’को छायांकन भ्याएर यतिबेला उनी ‘द ब्ल्यू लाइट’मा व्यस्त छिन् । अझै केही फिल्म उनको ‘लाइनअप’मा छन् ।

