
चर्चित टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिल्म ‘लाज शरणम्’बाट नवीन श्रेष्ठ निर्माणमा होमिएका छन् । उनको लगानीमा बनेको यो पहिलो फिल्म हो । लामो समयदेखि रियलस्टेट (घरजग्गा कारोबार) तथा रेस्टुरेन्ट व्यवसायमा सक्रिय रहेका उनी फिल्म निर्माणका लागि कुनै सम्झौता नगरेको दाबी गर्छन् । बजेट, लोकेसन र समयमा सम्झौता नगरी फिल्म बनाएको उनको भनाइ छ ।


अभिनेता पल शाहसँग हिट र फ्लप दुवै फिल्मको अनुभव छ । फिल्म ‘नाइँ नभन्नू ल ४’बाट सुखद् डेब्यु गरेका उनलाई ‘शत्रु गते’ र ‘म यस्तो गीत गाउँछु’को व्यापारिक सफलताले करिअरको उत्कर्षमा पुर्याएको थियो । तर, पछिल्लो रिलिज फिल्म ‘रावायण’को असफलताले भने उनलाई निकै ठूलो धक्का दिएको छ । यो फिल्म नचलिदिँदा उनको स्टारडममाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

निर्माण घोषणाको सात महिनापछि फिल्म ‘कल्ली’को छायांकन सुरु गरिएको छ । आइतबार काठमाडौंको बौद्धस्थित एक घरबाट फिल्म खिच्न थालिएको हो । फिल्मका लागि पहिलो सट उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले दिएका थिए । यसमा नाजिर र वर्षा श्रीमान्-श्रीमतीको भूमिकामा देखिँदैछन् । ३५ दिनको सेड्युलमा फिल्मको छायांकन काठमाडौंपछि जुम्ला जिल्लामा हुनेछ ।

निर्देशक तुलसी घिमिरेलाई निमोनिया भएपछि मुहूर्तको दिन केही दृश्य खिचेपछि रोकिएको फिल्म ‘पहाड’को छायांकन पुनः सुरु भएको छ । निर्देशक घिमिरेले आफ्नो स्वास्थ्य अनुकूल भएपछि शुक्रबारदेखि पूर्वनिर्धारित तालिका अनुसार गोरखामा छायांकन भइरहेको जानकारी दिए । उनी विरामी भएपछि छायांकनका लागि गोरखा पुगेको फिल्मको टिम काठमाडौं फर्किएको थियो ।

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिचर फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई सबैले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार फिल्मको जाँच भएको थियो । केही प्राविधिक कारणले गर्दा बोर्डले आइतबार निर्मातालाई सर्टिफिकेट प्रदान गरेको हो ।

