
संगीतकारको रुपमा परिचित टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । गायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्मको पोस्टरमा उनलाई नै स्थान दिइएको छ । उनी स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका छन् ।

‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइन राखेर निर्माण भएको फिल्म ‘चिराग’ आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार घटस्थापनाको दिन पारेर फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्म उक्त मितिमा अरु फिल्मको प्रदर्शन तय भएको छैन ।

घटस्थापनाको दिन पारेर सोमबार फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ बुढासुब्बा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । तर, रिलिजको २४ घन्टा पनि नवित्दै युट्युबबाट उक्त गीत हटाइएको छ । ५ लाखभन्दा बढी भ्यूज पाइसकेको गीत अचानक हटेपछि दर्शकहरू आश्चर्यमा परेका छन् । युट्युबले नै गीत हटाएको त होइन भन्ने जिज्ञासा धेरैमा देखिएको छ ।

राजु गिरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को मुख्य अभिनेत्रीमा रोशनी खड्का अनुबन्धित भएकी छन् । सोमबार घटस्थापनको दिन पारेर उनीसँग निर्माण पक्षले लिखित सम्झौता गरेको हो । फिल्ममा उनको जोडी अभिनेता सागर लम्साल (बले ब्रो)सँग बाँधिनेछ । सागर गत माघमै फिल्ममा अनुबन्ध भएका हुन् ।

कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशनमा बनेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार घटस्थापनको दिन पारेर सार्वजनिक दुई मिनेट लामो टिजरले फिल्मको कथा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको संकेत गर्छ । फिल्मले लिम्बू समुदायको संस्कार र संस्कृतिलाई पनि कथाको महत्त्वपूर्ण हिस्सा बनाएर प्रस्तुत गरेको छ ।

नेपाली र भारतीय निर्माताले मिलेर फिल्म ‘मोना लिसा’ (ब्लडी लभ) निर्माण गर्ने भएका छन् । सोमबार घटस्थापनाको अवसरमा दुईवटा पोस्टर सार्वजनिक गर्दै यस फिल्मको निर्माण घोषणा गरिएको हो । पोस्टरले फिल्मको कथामा प्रेम र एक्सनको मिश्रण रहेको संकेत गर्छ । एउटा पोस्टरमा फूल र अर्कोमा बन्दुकलाई केन्द्रमा राखिएको छ ।

