
अभिनेता विजय बरालको मुख्य भूमिका रहने फिल्म ‘जिरो डिग्री’को छायांकन सुरु भएको छ । आइतबार बिहान पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन थालिएको हो । फिल्मको पहिलो सटमा विजयसहित प्रकाश घिमिरे, राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए ।

दाजुभाइको सम्बन्धको कथामा आधारित फिल्म ‘हामी तीन भाइ’ राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा शनिबार निर्माण पक्षले भक्तपुरको गुण्डुमा रहेको पलाञ्चोक भगवती मन्दिरमा नयाँ गीत ‘झम्के फुली’को छायांकन गरेको छ । लोकलयमा आधारित यो गीत यसै साता सार्वजनिक गरिँदैछ ।

अभिनेत्री तेरिया फौजा मगरको डेब्यु फिल्म ‘मितज्यू’को प्रदर्शन मिति हेरफेर भएको छ । आगामी जेठ १५ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब एक साताअघि नै हलमा लाग्नेछ । आइतबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै जेठ ८ गतेलाई नयाँ प्रदर्शन मिति तय गरेको हो । अहिलेसम्म यो मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।

अभिनेता शिव श्रेष्ठलाई मुख्य भूमिकामा लिएर फिल्म ‘टेम्के: द डेस्टिनेसन’ निर्माण हुने भएको छ । शुक्रबार यो फिल्मको सुन्धारास्थित भन्द्रकाली मन्दिरमा धार्मिक विधिअनुसार स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै शुभ मुहूर्त गरियो । उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले क्ल्याप बजाएर मुहूर्त सटको निर्देशन गरेका थिए ।

यम थापाको निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा दीपिका बयम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ भने संगीत गायक सेन्चुरी स्वयंको हो । शब्द रमेश बिजीले लेखेका हुन् । गीतमा मायाको निशानी सुम्पिएको विषयलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट संसदीय चुनाव लडेकी अभिनेत्री निशा अधिकारीले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता बमोजिम उनले शुक्रबार आयोगमा चुनावी प्रचारप्रसार र व्यवस्थापनको खर्च विवरण पेस गरेकी हुन् ।

