गत बर्षको ब्लकबस्टर फिल्म 'नाईं लभन्नु ल २' पछि निर्देशक बिकास आचार्यले 'नाईं नभन्नु ल ३' निर्माण गर्दैछन् । यसअघि 'नाईं नभन्नु ल' र यसको सिक्वेल आँफैले निर्देशन गरेका आचार्यले यसपटक भने आफ्नै मुख्य सहायक निर्देशक मुस्कान ढकाललाई डेब्यू गराउँदैछन् ।
दसैंं सकिए लगत्तै असोज २२ गतेबाट सुटिङ शुरू हुने 'नाईं नभन्नु ल ३'मा अभिनेता जीवन लुईटेल छुटेका छैनन् । जीवन 'नाईं नभन्नु ल'का मुख्य हिरो थिए भने 'नाईं नभन्नु ल २'मा अतिथी भूमिकामा थिए । यसपटक उनको बिशेष भूमिका रहने बताईएको छ ।
यस्तै 'नाईं नभन्नु ल २'मा अभिनय गरेका बाल अभिनेता अनुभव रेग्मीसहित अर्का अभिनेता सुरज सिंह ठकुरी र अभिनेत्री प्रियंका कार्की यस पटक पनि मुख्य भूमिकामा नै रहने भएका छन् । यि बाहेक एक समयकी चर्चित अभिनेत्री सञ्चिता लुईंटेलसहित अभिनेता संयम पुरी, नव अभिनेत्री आश्मा डिसी, बाल कलाकार सफलता भट्टराईले 'नाईं नभन्नु ल ३'मा इन्ट्री गरेका छन् ।
अभिनेत्री गरिमा पन्त बिशेष अतिथी भूमिकामा देखिने भएकी छिन् भने 'नाईं नभन्नु ल २'की बाल अभिनेत्री सुज्ञानी भट्टराई र डेब्यू अभिनेत्री बर्षा सिवाकोटीले यो फिल्ममा अभिनय गर्ने छैनन् । यस्तै अभिनेता सरोज खनाल पनि यो फिल्ममा देखिने छैनन् ।
फिल्मको कथा अनुसार पात्र चयन गरेको 'नाईं नभन्नु ल ३'का निर्माता तथा लेखक बिकास आचार्यले फिल्मीखबरलाई बताए । वान टाईम सिनेमा प्रालीले निर्माण गर्ने यस फिल्ममा 'नाईं नभन्नु ल २' कै संगीतकार बसन्त सापकोटा र छायाँकार पुरूषोत्तम प्रधान दोहोरिएका छन् । यो फिल्मले पारिवारिक प्रेमकथा पस्कने निर्देशक बन्न लागेका मुस्कान ढकालले बताए ।

