चिनियाँ नागरिक हु वाई निर्देशित 'द बटरल्याम्प' ले एकादेशमा फिल्म महोत्सवको जुरी अवार्ड जितेको छ । यो जितसँगै उक्त फिल्मले नगद रू ५१ हजार पायो ।
आइतबार समापन भएको तीन दिने महोत्सवका जुरीत्रय गौरी मल्ल, पूजा गुरुङ र सुजन चित्रकारले २७ देशका ६९ फिल्ममध्येबाट 'द बटरल्याम्प'लाई उत्कृष्ट फिल्म घोषणा गरे । फिल्मले अवार्डसँगै ५१ हजार रुपैयाँ पनि जित्यो । 'द बटरल्याम्प' ले तिब्बती संस्कृतिमाथि चीन लगायत पश्चिमा देशको अतिक्रमणलाई प्रस्तुत गरेको छ ।
महोत्सवमा 'फ्युचर अफ द सिनेमा' को अवार्ड कला संग्रौला निर्देशित फिल्म 'बुट्टे जामा'ले पायो । जितसँगै यो फिल्मले २५ हजार रुपैयाँ पायो । 'बुट्टे जामा'ले थारू समुदायकी बालिकाको रातो बुट्टे जामा लगाउने चाहना र पूरा नहुँदाको पीडालाई समेटेको छ ।
त्यसैगरी पासाङदावा शेर्पा निर्देशित फिल्म 'क्यार क्यार पंखा' ले पब्लिक च्वाइस अवार्ड हात पार्दै २५ हजार रुपैयाँ जित्यो । अण्डरग्राउण्ड टाकिजले आयोजना गरेको महोत्सवमा फूलको माला र सुनको माला गरी दुई खण्डमा अन्तरक्रिया पनि गरिएको थियो।

