पोखरामा आईतबारदेखि नयाँ पर्यटकिय गन्तब्य थपिएको छ । हाईग्राउन्ड एड्भेन्चरले बन्जि जम्पको लञ्च गरेको हो । बन्जि जम्प स्पटको उद्घाटनमा पोखरा आईपुगेकी सुष्मा कार्की मिडियाको केन्द्रविन्दुमा परिन् ।
मिडियाकर्मीहरुले नै बन्जि जम्प गरेर स्पटको उद्घाटन गरे । त्यसपश्चात अभिनेत्री सुष्मा पनि बन्जि जम्प गर्न कस्सिईन् । साथमा आएकी भिजे तथा मोडल सुरजनी केसी पनि सुष्मासँगै बन्जि जम्प गर्ने भईन् । त्यसपछि शुरु भयो, बन्जि जम्प ।
पत्रकारहरुसंगै सुरजनीले बन्जि जम्प गरिन् तर शुरुमा निकै हौसिएर बन्जि जम्प गर्ने तयारी गरेर स्पट सम्म पुगेकी कार्की भने बन्जि जम्प नगरी फर्किईन् । तल हेर्दा देखिने कहालीलाग्दो छाँगोका कारण अत्तालिएर सुष्माले बन्जि हान्न सकिनन् । र, निन्याउरो मुख लाएर बन्जि नगरी फर्किईन् ।
गाँईगुँई चल्यो पत्रकारहरुमाझ । सुष्मालाई पत्रकारहरुले घेरिहाले, फोटो खिच्न थाले र सोध्न थाले,‘किन डराएको ?’ सुष्मा पनि शुरुमा अत्तालिएर हाम नफालेको बताईन् । यद्यपी पछि पत्रकारहरुले धेरै नै सोध्न थालेपछि भने उनको मुख रातो र पिरो बन्यो । र, एउटा कुनामा गएर निन्याउरो मुख लाएर बसिन् । यता सुरजनीको भने भुँईमा खुट्टै थिएन । बन्जि जम्प गर्दा आफुलाई निकै निकै मज्जा आएको बताउँदै थिईन् ।

