नुवाकोटको काउले गाउँमा नवीनकुमार वाइबाको नाममा हुर्केकी अञ्जलीले १८ वर्षको उमेरसम्म लोग्नेमान्छेका कपडा लाइन् । छोराको रूपमा जन्मिए पनि मन भने केटीको जस्तो भएपछि एसएलसी पास भएर काठमाडौं कलेज पढ्न आएका नवीन अञ्जली लामाका रूपमा परिवर्तन भए ।
अञ्जलीको रूपान्तरण यात्रा रोचक नै छ । बिहीबार राजधानीमा नवीनबाट अञ्जली बन्दा गर्नु परेको संघर्षको कथा देखाईयो । कुमारी हलमा आयोजना गरिएको 'अञ्जली' नामक डकुमेन्ट्री हेर्न बरिष्ठदेखि कनिष्ठ व्यक्तिहरूको उपस्थिती थियो । सबैले अञ्जलीको साहसिक जीवन यात्रााको कदर गरे ।
सानैदेखि केटीको व्यवहार देखाउने अञ्जलीले फरक लिंगीय व्यवहार गर्नेहरूको पनि संस्था छ भन्ने थाहा पाइन्, त्यसपछि उनी आफैं ब्लु डाइमन्ड सोसाइटीको अफिस खोज्दै हिँडिन् । उनले त्यो अफिस र त्यसले गर्ने अभियान मात्रै पत्ता लाइनन् । उनले आफ्नो परिचय पाईन्, नवीनबाट अञ्जली नाम ।
नाम बदल्नु मात्रै उनको लक्ष्य हैन । घरपरिवारसँग संघर्ष गर्दै आएकी अञ्जली लिङ्ग परिवर्तन गरेर पूर्ण रूपमा महिला बन्न चाहन्छिन् । 'अञ्जली : एक पृथक यात्रा'मा अञ्जलीले भनेकी छिन्, 'लिङ्ग परिवर्तन गरेर जब म पूर्ण रूपमा महिला बन्छु त्यसपछि सबैभन्दा पहिला विकनी फोटो सुट गर्छु ।' आर्थिक अभावका कारण चाहेर पनि लिङ्ग परिवर्तन गर्न नसकेको गुनासो डकुमेन्ट्री मार्फत उनले पोखेकी छिन् ।
अञ्जली संसारमा चिनिने गरेर सुपरमोडल बन्न चाहन्छिन् । यो उनको दोस्रो ठुलो लक्ष्य हो । उनले नेपालमा तेस्रोलिंगी मोडलका रूपमा स्थापित भएर थुप्रै फेसन शोहरूमा क्याटवाक गरेकी छिन् । तेस्रो लिङ्गी भएका कारण मोडलिङमा करिअर निर्माण गर्न चुनौती रहेको उनले डकुमेन्ट्रीमा भनेकी छिन् ।
अञ्जलीकै संघर्षपूर्ण भोगाइ समेटेर मोहन राईले डकुमेन्ट्री फिल्म निर्माण/निर्देशन गरेका हुन् । अञ्जलीमार्फत तेस्रोलिंगी समुदायको वैयक्तिक र सामाजिक सम्बन्धका आयामहरू खोतल्ने प्रयास गरिएको निर्देशक राइले बताए । तीन वर्ष लाएर तयार पारिएको डकुमेन्ट्रीमा उनले पक्ष र विपक्ष सबै सन्दर्भहरू समेटेका छन् ।