नेपाली फिल्म क्षेत्रमा सफल निर्माताको सूची खासै लामो छैन । निरन्तर फिल्म बनाई रहने र सफल हुने निर्माताहरू दश औंलामा नै सिमित होलान् । यही सफल निर्माताको भीडमा सुशिल पोखरेलको नाम पनि पर्दछ ।
'परदेशी' फिल्ममा लगानी गरेर १८ बर्षको उमेरमा नै निर्माताको परिचय बनाएका पोखरेलले १६ बर्षको अन्तरालमा ८ वटा फिल्म निर्माण गरेका छन् । ति मध्ये 'वडीगार्ड' उनको एक मात्र 'फ्लप' फिल्म हो भने 'लभ सब' रिलिजको तयारीमा छ ।
२०५५/५६ सालमा दिपक आलोकको निर्देशनमा बनेको 'परदेशी' फिल्ममा पार्टनरशिपमा लगानी गरेपछि सुशिलले आर्थिक हिनामिना भएका कारण झन्डै ५ बर्ष फिल्म निर्माण गरेनन् । 'हिसाब गोलमाल गरेपछि 'फ्रस्टेड' भएँ र फिल्म निर्माण नगर्ने सोच बनाएँ,' विगतलाई सम्झिदै उनले भने, 'जब म आर्थिक र मानसिक रूपमा सबल भएँ तब फिल्म निर्माण गर्ने जोश पलायो ।'
राजेश हमाल र विपना थापालाई लिएर 'परदेशी' निर्माण गरे पश्चात ५ बर्ष परदेशी जस्तै भएका सुशिलले ०६१ सालमा राजेश हमाल, बिराज भट्ट र रेखा थापालाई लिएर फिल्म 'मैदान'मा लगानी गरे र मैदानमा उत्रे । त्यो बेलाका स्टारहरू बिगबिगीले फिल्म हिट भयो । उनी पनि जोशिए ।
०६२ सालमा पुन: राजेश र बिराजलाई नै लिएर 'जीवनदाता' बनाए । मदन घिमिरेले निर्देशन गरेको यो फिल्मले सुशिललाई निराश बनाएन । आय आर्जन राम्रै भएपछी लगानी गर्न को पछी हट्ला र ? उनले तीन अभिनेत्री ऋचा घिमिरे, पूजना प्रधान र रञ्जु लामिछानेलाई मुख्य भूमिकामा लिएर 'आँधीतुफान' बनाए । फिल्मले पुन: नाफा दियो ।
'त्यो बेला स्टार भ्यालु थियो जसले गर्दा राम्रो फिल्म बनाउँदा चल्थ्यो', सुशिल भन्छन्, 'राजेश र बिराज त्यो बेलाका सुपरस्टार नै थिए । मैले उनीहरूलाई छाडेर रिक्स लिन चाहन्नथें ।' जब निखिल उप्रेतीको चर्चा हुन थाल्यो त्यसपछि उनले तीन स्टार राजेश, बिराज र निखिललाई लिएर 'जय शिव शंकर' बनाए । फिल्मले लगानी डुब्न दिएन । राम्रै आय भयो ।
फिल्ममा लगानी गरेर मात्र हुँदैन । दर्शकको स्वाद अनुरूपको फिल्म पनि बनाउनु पर्छ । यो हेक्का सुशिललाई छ । त्यसैले उनले लगातार सफलता हात पार्दै गए । ०६७ सालतिर 'निगरानी' फिल्म बनाए । उनले बिराज भट्टलाई छोडेनन् । त्यो बेलाका नव अभिनेता मुकेश ढकाल र अभिनेत्री जेनिशा केसीसहित चल्तापूर्जा अभिनेत्री अरुणिमा लम्साललाई 'निगरानी'को मुख्य पात्र बनाए ।

यही फिल्मबाट मुकेश किसर हिरोको रूपमा चर्चामा आए । अरुणिमा र मुकेशको किस सिनले बजार तताएन मात्रै सुशिलको करियरकै धेरै नाफा दिने फिल्म पनि बन्यो, 'निगरानी' । एक करोड भन्दा बढि नाफा फिल्मले दिएको उनी सम्झन्छन् ।
फिल्म क्षेत्रले विस्तारै नयाँँ मोड लिंदै गयो । फिल्मको बाढी आउन थाल्यो । दर्शकको स्वादमा परिवर्तन हुँदै गयो । चलिरहेका स्टारहरूको भ्यालु कम हुँदै गयो । फिल्म क्षेत्रमा आएको नयाँँ आयामले सुशिलको सोचाईमा पनि परिवर्तन ल्यायो । एक्कासी उनले नयाँँ अनुहार लिएर फिल्म 'वडीगार्ड' बनाए । यही फिल्म उनको करियरको 'फ्लप' फिल्म बन्यो । यसको दोष उनी आँफै लिन्छन् ।
'दर्शकको चाहना बुझ्न सकिन । समय अनुसार अपडेट हुन्छु भन्दा अलि बढि नै अपडेट भएकी जस्तो लाग्छ अहिले,' सुशिल भन्छन्, 'यसको दोष अरू कसैलाई दिन्न । मेरै कारणले फिल्म नचलेको हो ।' यो फिल्ममा सुशिलले खाईलाग्दो ज्यान भएका आकाश शाहलाई हिरोको परिचय दिएका थिए ।
जब फिल्म असफल भयो तब उनमा नैराश्यता देखियो । फिल्म नबनाउने घोषणा समेत गर्न भ्याए । जब फिल्मको नशा लाग्छ तब मान्छेले त्यो नशालाई चाहेर पनि त्याग्न सक्दैन । कहीं न कतै फिल्मको नशा बगिरहेकै हुन्छ । त्यही नै भयो । उनले एक बर्षमै 'लभ सब' निर्माण गरे । यो फिल्म रिलिजको तयारीमा छ ।
'सफलता हात परिरहेका बेला एक्कासी असफल हुँदा सार्है दु:ख लाग्यो । सबैले 'फ्लप' निर्माता भनेर जिस्काएको जस्तो लाग्न थाल्यो', सुशिलले भने, 'त्यही रिसको झोकमा आएर फिल्म बनाउँदिन भने । तर, गर्दै आएको र आफूले जानेको काम छोड्न सकिन । पुन: नयाँँ सोच बनाएर लगानी गर्न तयार भएँ ।'
निर्देशक देवकुमार श्रेष्ठलाई लिएर वितरक नरेन्द्र महर्जनको सहकार्यमा सुशिलले 'लभ सब' निर्माण गरेका छन् । पौष २५ गते रिलिज हुन लागेको यो फिल्मले टिनेजर युवायुवतीको प्रेमकथा पेश गर्दछ । संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतको मुख्य भूमिका रहेको रोमान्टिक कमेडी फिल्म ‘लभ सब' समयको माग भन्छन्, सुशिल ।
पुराना कलाकारलाई छोडेर नयाँलाई लिएका सुशिलले यो फिल्म सफल हुनेमा ढुक्क छन् । 'दर्शकको चाहना अनुसार नै फिल्म बनाएका छौं, 'उनले भने, 'जसरी विगतमा मैले दर्शकको चाहना अनुरूप फिल्म बनाएर सफल भएको थिएँ यस पटक पनि त्यसरी नै सफल हुन्छु भन्ने विश्वास छ ।'

