हरि महतको लगानीमा बनेको फिल्म 'पुण्टे परेड' भोली शुक्रबारबाट प्रदर्शनमा अाउँदै छ । राजधानीमा सिङ्गल रिलिजको मौका पाएकाले २१ वटा हलमा यो फिल्म रिलिज हुने वितरक कम्पनी दर्शना आर्ट्सले जानकारी दियो ।
लामो समयपछि काठमाण्डौ उपत्यकामा नेपाली फिल्मले धेरै हल पाएको दर्शनाका सिईयो सुरेश दर्पण पोखरेलले जानकारी दिए । राजधानी बाहिर भने दर्शनाले नै वितरण गरेको फिल्म 'उत्सव'सँग 'पुण्टे परेड'ले हल बाँडफाँड गर्नेछ । 'उत्सव' गत भाद्र १३ गते राजधानीमा रिलिज भएको फिल्म हो । काठमाण्डौ बाहिर एफडी फिल्म वितरण गर्नेछ ।
सुवास कोईरालाले निर्देशन गरेको पुण्टे परेड'मा संयम पुरीको मुख्य भूमिका छ । पुरीले पुन्टेको चरित्र निर्वाह गरेका छन् । केही सुस्त मनस्थितिको जस्तो व्यवहार देखाउने पुन्टे कलेज साथीहरूदेखि घरपरिवारसम्मले बेवास्ता गरेपछि घर छोड्न बाध्य हुने र त्यसपछिको अवस्थामा फिल्मले लिने मोडलाई कथानक बनाईएको छ ।
यो फिल्म सान बस्नेतले लेखेका हुन् । यसमा ताराप्रकाश लिम्बु र टेकनन्द लामाले संगीत दिएका छन् । फिल्ममा एन्जिला दाहाल, निलु डोल्मा, नट्टु शाह, गीता अधिकारी, श्वेता थापाको पनि अभिनय हेर्न सकिन्छ । अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भूमिका छ । फिल्मलाई बाबु थापाले छायांकन गरेका हुन् ।

