‘हिम्मतवाली’ फिल्ममा अभिनय गरेका कलाकार सुदर्शन गौतमले रेखा थापासँगको प्रेमलाई पनि नकारेका छन् । उनका अनुसार रेखा मिल्ने साथी हुन् । विवाह हुनसक्छ कि सक्दैन भन्ने संचारकर्मीको प्रश्नमा सुदर्शनले भविष्यले नै बताउने बताए ।
संचारकर्मीसँग उनले आफ्नो डिभोर्स भैसकेको रहस्य समेत खोलेका छन् । क्यानडामा रहेकी आफ्नी श्रीमतीसँग डिभोर्स भएको भन्दै सुदर्शनले आफू सिंगल भएको खुलाएका छन् । यता रेखाले भने सुदर्शनलाई माया गर्ने बताउँदै आएकी छिन् । यि दुईको कृयाकलाप हेर्ने हो भने प्रेममा नै रहेको देखिन्छ । फेसबुकमा यि दुईले आफ्नो प्रेमलाई छरपस्ट पार्दै आएका छन् ।
यस्तै उनले एउटै फिल्ममा २ वटा निर्देशकसँग काम गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको बताएका छन् । आज संचारकर्मीहरुसँग कुरा गर्दै उनले श्याम भट्टराई भन्दा रेखा निर्देशनमा राम्रो भएको धारणा राखे । सुदर्शनले भने –‘रेखाले फिल्म सम्हालेपछि मलाई निक्कै सहज भयो ।’
रेखाले फिल्म मात्र सम्हालिनन्, सुदर्शनलाई पनि सम्हालिन् । त्यहि भएर पनि हुनसक्छ उनले रेखाको पक्ष लिएको । रेखा र श्यामको झगडाको मूल जड सुदर्शन नै रहेको पनि बताईन्छ ।
'हिम्मतवाली' निर्देशनबाट श्याम बहिरिएपछि रेखाले आफूलाई 'क'बाट नजाने 'ग' तरिकाले अभिनय सिकाएको सुदर्शनले बताए । फिल्ममा आफूलाई श्यामले ल्याएको भन्ने प्रश्नलाई समेत सुदर्शनले नकारे । उनले रेखासँग आफू सगरमाथा चढ्न जाँदा नै भेट भएको भन्दै त्यसबेला नै फिल्म खेल्ने कुरा भएको बताए । फिल्म खेल्ने पक्का भएपछि २ महिना रेखाले आफूलाई तालिम दिएको उनको भनाई छ ।
किशोरअवस्थामै दुबै हात गुमाएका सुदर्शनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर किर्तिमानी राखिसकेका छन् । यस्तै उनले हात विना नै प्यारासुटमा उडेर विश्व रेकर्ड राखेका छन् । रेखाले पनि सुदर्शन हिम्मतवाला पुरुष रहेको तर्क गर्छिन् ।