अभिनेता हसन खानले 'अलबिदा' फिल्म निर्माण गरेका छन् । उक्त फिल्ममा आर्यन सिग्देल र अनिता आचार्यको साथमा उनी स्वयंले अभिनय पनि गरेका छन् । फिल्मको कथा अनुसार हसनको प्रेम टुक्रिन्छ । कसरी टुक्रिन्छ ? त्यसका लागि फिल्म नै हेर्नु पर्छ ।

फिल्ममा जस्तै रियल लाईफमा पनि हसनको प्रेम टुक्रिएको छ । अझ भनौं उनको प्रेमको अलबिदा भएको छ । लामो समयदेखि मोडल आयुष्मा श्रेष्ठसँग प्रेममा रहेका हसन अहिले एक्लो भएका छन् । केही महिना अगाडी मात्रै आयुष्माले हसनलाई छाडेर युरोपियन नागरिकलाई रोजिन् । फिल्ममा जस्तै आयुष्मा हाँसिन्, हसन रोए ।
'अहिले पनि सपना जस्तै लागेको छ', निकै प्रेम गर्ने प्रेमिकाले अर्कैलाई रोजेपछि भाँचिएका हसन भन्छन्, 'मेरो प्रेमकथा मेरै फिल्मको कथा जस्तै भयो ।'
आयुष्माको परिवार भारतमा बस्दै आएका छन् । उनी आफ्नो परिवार भेट्न करिब दुई महिना अगाडी भारत गएकी थिइन् । जाने अघिल्लो दिनसम्म सँगै रहेका हसन केही दिनमा छाँगाबाट खसेजस्तै भए जब आयुष्माले भारतमा बिहे गरेको खबर सुने ।

फिल्म 'अलबिदा'को निर्मातामा प्रेमिका आयुष्माकै नाम राखेका हसनले सोही फिल्मको आईटमा गीतमा पनि उनैलाई नचाउने तयारी गर्दै थिए । तर आयुष्माले हसनलाई नै नचाईदिईन् । 'उसले आफ्नो सुरक्षित भविष्य खोजेको होला', भावुक सुनिए ।
एकदिन आयुष्माले फेसबुकमा हसनसँगको फोटो पोस्ट गरेर लेखेकी थिइन्, 'टुगेदर एन्ड फरेभर' । फिल्म रिलिज पश्चात बिहे गर्ने योजना बनाएको यो जोडीको प्रेम टुट्यो, सधैंंका लागि । किन छुट्यो ? हसनले अहिलेसम्म बुझ्न सकेका छैनन् ।

