कार्यक्रम सकिएपछि झुल्किए विल्सन निर्धारित समय भन्दा झन्डै ४५ मिनेट ढिलो शुरू भएको फिल्म 'हमजायगा'को प्रेसमिटमा मुख्य पात्र विल्सन विक्रम राई भने कार्यक्रम सकिएपछि मात्रै झुल्किए । फाटेको पाईन्टमा झोला बोकेर अरू बेला भन्दा भिन्न गेटअपमा आएका विल्सनले ढिलो आएकै कारण माफी मागे ।

‘खास खुस-खास खुस’ नाम राखिएको हाँस्य टेलिफिल्मको सुटिङ भएकाले ढिला आउनु परेको उनले सुनाए । फिल्मको बारेमा अभिनेताद्धय बाबु बोगटी र मनोज आरसीले आफ्नो अनुभव बाँड्दा विल्सनले भने अनुहार देखाएरै चित्त बुझाए । तर, ढिलो आएपनि मिडियाको अगाडी हिरो नै बने ।
.jpg)

हमजाएगा उपनामले चिनिने प्रख्यात दार्जिलिङे सवारी चालक दलबहादुर गुरुङको कथासँग जोडिएको फिल्म 'हमजाएगा' मंसिर ५ मा रिलिज हुँदैछ । फिल्म बारे बोल्दै निर्देशक सुरेन्द्र पुनले भने, ‘फिल्ममा एउटा पनि अपशब्द, किस सिन र बेडसिन छैन । सपरिवार मनोरन्जन लिन सकिन्छ ।’ निर्देशक पुनले फिल्ममा अश्लील कुरा नराखेरै रिक्स लिएको बताए ।

गीत सार्वजनिक गरेसँगै निर्देशक पुनले संगीत नै फिल्मको सशक्त पक्ष रहेको भनाई राखे । निर्देशक पुन स्वयं फिल्मका संगीतकार र गीतकार हुन् । बाबु बोगटी, मनोज आरसी, विल्सनविक्रम राई, ऋचा धिताल, सपना श्रेष्ठको फिल्ममा अभिनय छ । रोमान्टिक कमेडी फिल्म 'हमजायगा'लाई टंक गुरूङ, सूर्य ब्लोन, ओम कुमारी पुन र सरस्वती लामाले मिलेर निर्माण गरेका हुन् ।

