मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामा जीवनले कस्लाई बनाए प्राण ? (प्रेमपत्र सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/09/16
अभिनेता जीवन लुईटेल केही दिन अगाडी मात्र एक साताको अमेरिका भ्रमण सकेर नेपाल फर्किए । फिल्म 'ठूली'को प्रिमियरमा सहभागी हुन अमेरिका पुगेका जीवनले सम्मान पनि थापे । 
 
 
एक साताको बसाईमा उनले के-के गरे त ? त्यो उनलाई नै थाहा होला । तर फिल्मीखबरलाई प्राप्त एक पत्रलाई आधार मान्ने हो भने उनले अमेरिकामा कसैको मन जितेर पनि आए । पत्रकै अनुसार भन्ने हो भने उनले 'प्राण' बनाएर आए । 
 
जीवनलाई नै थाहा छैन कस्लाई 'प्राण' बनाएँ भन्ने कुरा । जब उनलाई एक अपरिचित व्यक्तिको ईमेल आयो तब उनी तीनछक परे । जीवनलाई आएको प्रेमपत्रमा ति अपरिचित महिला (इमेलमा आएको नाम महिलाको भएकाले) ले मेरो प्राण भनेर सम्बोधन गरेकी छिन् । 
 
एक सन्तानका पिता जीवन मिडियामा भने प्रेमको मामालामा गसिपको पात्र भएका छैनन् । तर, यो पत्र हात परेपछि भने जीवनकी अर्धाङिनी अञ्जलीले पक्कै प्रश्न गर्नेछिन्, 'कस्को प्रेम पत्र हो यो ?' 
 
जीवनले अभिनय गरेका फिल्महरूलाई आधार बनाएर लेखिएको पत्र यस्तो छ - 
 
 
नेपाली फिल्म नगरीका अत्यन्तै चर्चित, मृदुभाषी, मिलनसार, व्यस्त अनि अभिनयका धनी नायक जीवन लुइटेलज्यू,
नमस्कार ! 
 
नेपाली चलचित्रमा उत्कृष्ट अभिनय गर्ने र नायक बन्ने सानैदेखिको हजुरको तिर्खा २००७ देखि वास्तविकरुपमा सुरु भयो । जीवनमा आउने सबै घटकहरु पार गर्दै फिल्मी दुनियाको फराकिलो क्षितिजमा सानो संसारबाट चिहाउन थाल्नुभयो । चलचित्र र अभिनयलाई नै मेरो एउटा साथी छ भन्दै लाग्नुभयो । जे गरे पनि, जता गए पनि नसिब आफ्नै हो ।
 
प्रशिद्ध नायक जीवन लुइटेलज्यू,
कसम हजुरको । म झुट बोल्दिन र तपाईंले पनि झुट नबोल्नु होला । ल भन्नुस् त यो दीपशिखालाई तपाईंले पहिलो पटक नाइ नभन्नु ल भनेर कहिले भन्नुभयो ? मलाई थाहा छ । तपाईंले पहिलो पटक नाइ नभन्नु ल भनेको २०१० मा हो । आज भन्दा झण्डै ४ वर्ष अगाडी हो । कि होइन ? त्यो बेला मैले ख्वे के भने बिर्सेंं तर तपाईं चांहि मलाई मन पर्‍यो भनेर त्यहि वर्षदेखि भन्न थाल्नुभयो । म त के भएँ भएँ । अर्को वर्ष तिर त तपाईंले म तिम्रो भइ सकेँ भनेर दुनियालाई वताउन पनि थाल्नुभयो ।
 
ख्वै के भयो २०१२ तिर तपाईंलाई कुन्नी तर मैले तपाईंलाई मालतीको भट्टी तिर धाउन लागेको देँखे । तर हजुर त्यो देखेर मलाई त दुःख लागेन, झन खुशि पो भएँ । किन थाहा छ ? जब जब माया बस्छ, तब मान्छे जाने नै भट्टी र पार्क त हो । तपाईं बाठो पनि हुनुहुन्छ र हरेक परिस्थितिमा आफूलाई सम्हाल्नु हुन्छ, त्यहि वर्ष तपाईंलाई अन्दाज भयो ।
 
२०१३ मा आइपुगे पछि तपाईंले पनि ब्ल्याकमेल गर्न थाल्नुभयो । नरिसाउनु ल यसो भन्दा । ब्ल्याकमेल पछि त फेरि सबै कुरो ठीक ठाउँमा अाईहाल्यो नि ! तपाईं भित्र बहार आयो । संगितमय भयो जीवनको जीवन । रिदम आयो तपाईंमा । लेख्न थाल्नु भयो नोटबुकमा । अरु के-के लेख्नुभयो थाहा भएन तर मेरो मनको साथी भनेर त पक्कै लेख्नु भएको थियो । किन लुकाउनु हुन्छ ?  दुनियाँलाई थाहा भएकै कुरो त हो ।
 
तपाईंलाई मान्नै पर्छ । फिल्म फिल्म भनेर बाहिर मात्र हिंड्यो । घर परिवार आफन्त बिर्स्यो भनेर परिवारले गर्ने गाली रोक्न माइ ब्रदर भन्न पनि भ्याउनु भयो । कति जानेको ? कति सकेको ? आफ्नी पनि भईन्, आफन्त पनि भए । अब त जीवनको जीवन विन्दाससंग बित्न थालिहाल्यो नि ! अब त के चाहियो र ? घुम्ने खाने रमाउने । 
 
मलाई तपाईंले जाँउ हिंड पोखरा भनेको याद छ ? किन थाहा नहुनुनी यति बाठो मान्छेलाई । यी सम्वन्ध, प्रसिद्धि र रमाइला क्षण भनेको सिसा जस्तै हुन, कुनै पनि बेला टुट्न सक्छ भन्ने हेक्का तपाईंलाई भएकै हो ।
 
मलाई थाहा छ तपाईंले आफ्नो नाम जीवन त्यसै पाउनु भएको होइन । अभिनय नै सहि हरेकको जीवन तपाईंइंले एकै जीवनमा पाउनु भएको छ । तपाईं के मात्रै बन्नु भएन यो जीवनमा ? सुकुलगुण्डा बनेको पनि मेरै आँखाले देखेका छन् । जीवनको भोगाइ पछि तपाईं अझ गम्भिर बन्नुभयो । बुझ्नुभयो र फेरि मलाई आएर दोश्रो पटक नाइ नभन्नु ल भन्नुभयो । म कति खुशि भएँ तपाईंलाई के थाहा । मैले पनि हुन्छ भने । तपाईं फुरुक्क पर्नुभयो ।  
 
त्यसपछि तपाईं अलि बढी नै रोमान्टिक हुनुभएको महशुस भएको थियो मलाई । मलाई याद छ त्यसपछि तपाईंले एकदिन भन्नुभएको थियो । मेरो त स्टुपिड मन छ, के गरौँ भनेर । म लाजले भुतुक्कै भएँ, हजुरको कुरो सुने पछि । तपाईं व्ल्याक एण्ड ह्वाइट हुन खोजिसक्नु भएको थियो । तर धन्य त्यो काम छोडी दिनुभयो । म धैर्य भएर बसें । भदौ ६ गतेदेखि त तपाईंले मलाई पनि ठूली भनेर बोलाउन पनि थालिसक्नु भएको छ । आजभोलि ठूली ठूली भनेको सुनेर र हेरेर दंग परेको छु । तपाईंलाई पनि त धुन सवार भएको छ नि !
 
मेरो प्राण,
धेरै के लेखौँ ? जीवनलाई जस्तो सोच्यो त्यस्तै हुन्छ । उकाली ओराली गरिरहनु पर्छ । तपाईंले गरिरहनु भएको छ । चाँडै नै हजुरको जीवनमा काफल पाक्यो भन्ने सुन्न पाउँ । हजुरको शान्त र उत्कृष्ठ सीपको भुलभूलैयामा रमाउन पाउँ । मेरो जीवनको जीवन, जीवनको फिल्म र अभिनय जस्तै सदा सदा उत्कृष्ट भइरहोस् । यो चिठी सकिएको छैन । यसलाई जीवनको जीवन भन्दा पनि लामो बनाउन पाउँ । हजुरको सदा उन्नती र प्रगति देख्न र लेख्न पाइरहुँ । 
नमस्कार । धन्यवाद !
 
उहि 
हजुरको सदा उन्नती देख्न चाहने । 
७ सेप्टेम्वर, २०१४ । भर्जिनिया, अमेरिका ।