मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओरालो लागेपछि प्रेम र बिहेको तुरूप !

फिल्मीखबर, काठमाण्डौ, 2014/09/15
बिहे एउटा चर्चाको बाहाना हुन्छ सेलिब्रेटीका लागि । विशेषगरी बिहे र प्रेमको तुरूप मिडिया र दर्शकसँग जोडिने एउटा बाहाना पनि हो । यसैले, कलाकारहरु ओरालो लागेपछि चर्चामा रहन बिहे र प्रेमको प्रसङ्गलाई अगाडी सार्छन् । 
 
 
हालै मात्र अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेष्वाकरसँगको प्रेमलाई उजागर गरिन् । निशा शरदसँग बिहे गर्ने समेत बताउँछिन् । निशाका लागि शरद एउटा राम्रो जीवनसाथी बन्न सक्लान्, यो उनीहरुले नै जान्ने कुरा हो । तर, शरदसँगको सामिप्यता निशाका लागि मिडियामा चर्चित बन्ने दरिलो उपाय समेत हो ।
 
सायद यसैले पनि हुनुपर्छ, फिल्मको निरन्तर असफलताले दिक्क भएकी निशाले शरदलाई बोकेर फिल्म हलमा पुगिन् । सार्वजनिक कार्यक्रममा देखा परिन् । यहि कुराहरुले उनलाई बारम्बार मिडियामा चर्चामा रहने बहाना बनाइदियो । निशाको प्रेम र बिबाहको चर्चा फिल्म क्षेत्रमा असफलतासँगै आएको अनुमान छ ।
 
अभिनेता राजेश हमालले जुन उमेरमा बिहे गरे त्यतिबेला उनको हातमा फिल्म कम थिए । बिहेको तुरूप नफ्याकेको भए सायद हमालको चर्चा आजसम्म धेरै हदसम्म सेलाउने थियो । प्रेमिका सार्वजनिक र बिहे हमालको ओरालो लागेपछि दरिलो तुरूप कार्ड थियो, जसले उनलाई दर्शक र मिडियामा सधैं नै नजिक बनाउने माहोला बनाइदियो ।
 
अभिनेत्री सुमिना घिमिरे हुन् या निता ढुंगाना । यि दुबै प्रेममा रहेको जनाएका छन् । यतिबेला सुमिना र निताको हातमा उल्लेख्य फिल्म छैन । जसका कारण पनि चर्चाका लागि यि दुई अभिनेत्रीले नयाँ बहाना खोजेको हुनसक्छ । निताले त यसै बर्ष बिहे गर्न सक्ने समेत संकेत गरेकी छिन् ।
 
चर्चाका हिसाबले त नायिका रेखा थापा सधैं नै अग्रस्थानमा आउँछिन् । तर, उनको हातमा पनि फिल्मको संख्या सजिलै सम्झने खालको नै छ । रेखा फिल्म चलाउनकै लागि सुदर्शन गौतमसँगको प्रेमको चर्चा गर्दैछिन् या साँच्चिकै प्रेम गर्छिन् ? उनलाई प्रेम र बिबाहको चर्चाले मिडियामा गाँसिन सकिन्छ भन्ने थाहा छ । 
 
उसो त बिहे पश्चात केही कलाकारलाई फिल्म नगरी फापेको छ । जसमा छवि ओझासँग १० बर्षसँगै बसेकी रेखा थापादेखि फिल्म नगरीमा आउनु अघि नै बिहे गरेकी झरना थापा नै किन नहुन् । प्रेम र बिबाहको चर्चा धेरै कलाकारका लागि उपस्थिती जनाउने दरिलो माध्यम हो । फिल्ममा राम्रैसँग चलेसम्म रहेको प्रेमलाई समेत लुकाउने तर ओझेल परेपछि आफै यस्तो समाचार फैलाउने कुरामा कलाकार नै अगाडि छन् ।
 
अभिनेत्री सुष्मा कार्की विगत २ बर्षदेखि एउटै कारणले चर्चामा छिन्, प्रेमि निरनसँगको सम्बन्ध र ब्रेकअप । कहिले जोडिएको त कहिले गाँसिएको खबरले सुष्मालाई सधैं नै तरंगमा ल्याइदिएको छ । सुष्मा अहिले प्रेमीले दिएका पिडा र तड्पनका खबर मिडियामा फ्याक्न आफै अग्रसर छिन् ।
 
फिल्म नगरीमा अस्तित्व हराउन थालेको भान भएपछि अभिनेत्री रेजिना उप्रेतीले पनि बिहे गरिन् । जबकी उनी लामो समय लण्डन बस्दा आफ्नो प्रेमको बारेमा बोल्न समेत चाहन्नथिन् । आँफैले निर्माण गरेको फिल्म 'वरदान' असफल भएपछि रेजिना बिहे गर्न तयार भइन् ।
 
अभिनेता भुवन केसी र प्रेमिका एक अर्काका पर्यावाची नै जस्तो लाग्छ । उनको चर्चा प्राय महिला पात्रकै कारणले हुन्छ । यस्तै अभिनेता आर्यन सिग्देलले पनि असफल फिल्म आईरहँदा प्रेम प्रसंगलाई अगाडी ल्याए । बिहे गरेसँगै उनको फिल्मले पनि सफलता पायो । सायद उनलाई बिहे फाप्यो । 
 
सफल हुँदासम्म प्रेम र बिबाहको बिषयमा मौन बस्न चाहने हाम्रा कलाकार ओरालो लागेपछि भने यही बिषयलाई उचाइमा ल्याइदिन्छन् । यो मामालामा उल्लेखित कलाकारहरू प्रतिनिधि पात्र मात्र हुन् । यो नगरीमा यस्ता थुप्रै कलाकार तथा अन्य फिल्म मेकर छन् जो काम भन्दा बढी नामको खोजीमा छन् । नाम खोज्ने हतियार बन्छ 'अफयर' ।