Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

कुन अभिनेत्रीले धान्ने फिल्म नगरी ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/10
नेपाली फिल्म क्षेत्रमा यतिबेला सेलिब्रेटी भन्दा पनि कलाकार धेरै छन् । सेलिब्रेटी बन्न नसकेको फिल्म नगरीमा चेलिबेटीको प्रवेश भने खुबै भएको विश्लेषण गरिन्छ । हुनत हिरो बन्ने सपना बुनेर आउने थुप्रै छन् । हामी चर्चा गर्दैछौं अभिनेत्रीहरूको । 
 
यतिबेला फिल्म नगरी चल्नका लागि चलेको छ । नीति नियमको अभाव, बग्रेल्ती फिल्म बन्नु लगायतका कारणले फिल्म बजारमा खुशीको खबर छाउन सकेको छैन । फिल्म नगरीमा प्रवेश गर्ने नयाँ कलाकार र पुराना कलाकार विच देखिएको दुरी पनि जोडिन सकेको छैन ।
 
आखिर, यतिबेला फिल्म क्षेत्र कुन अभिनेत्रीले धानेकी छिन् ? प्रश्न चौतर्फी उब्जन सक्छ । बर्षमा सय भन्दा बढि फिल्म बन्दा अभिनेत्रीहरू व्यस्त हुनु स्वभाविक नै हो । नचलेका हिरोइन भित्र चलेका हिरोइन खोज्नु पर्ने वाध्यता निर्माताको छ । 
 
फिल्म क्षेत्रमा विगत दश बर्षदेखि अभिनेत्री रेखा थापाको क्रेज सर्वाधिक छ । उसो त रेखा अब आफ्नो होम प्रोडक्शन भन्दा बाहेकका फिल्ममा खासै अभिनय नगर्ने बताउछिन् । रेखाको विजयादशमीमा 'हिम्मतवाली' प्रदर्शनमा आउदैछ । यसपछि उनी सविर श्रेष्ठको निर्देशनमा बनेको 'तथास्तु'मा देखिनेछिन् । फिल्मको संख्या कम भएपनि रेखाले फिल्म नगरी धानेकी छिन् भन्दा फरक नपर्ला ।
 
रेखापछि अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, गरिमा पन्त व्यस्त देखिन्छन् । केकी र प्रियंका एकसाथ अभिनय गरेको फिल्म 'श्री ५ अम्बरे' र 'फन्को' प्रदर्शनका लागि तयार छन् भने प्रियंकाको 'माला' र 'सुन्तली' पनि प्रदर्शनको तयारीमा छ भने केकीको 'पुनर्जन्म' रिलिजको संघारमा छ । अभिनेत्री गरिमा पन्तको चर्चा 'झोला' पछि चुलिएको छ । उनको 'रंग बैजनी' रिलिज हुँदैछ ।
 

अभिनेत्री करिष्मा मानन्धर, झरना थापा, अरुणिमा लम्साल, संचिता लुइटेल  विस्तारै अस्ताउन थालेका छन् । क्रिकेटर शरद भेस्वाकरसँगको प्रेममा मस्त निशा अधिकारीको आशा पनि फिल्म नगरीले अब गर्न छोडेको छ । नम्रता श्रेष्ठको चर्चा संचारमाध्यममा जती हुन्छ, बक्स अफिसमा खासै भएको पाइदैन । नन्दिता केसीको पनि मार्केट खस्किदै गएको छ । 
 
निता ढुंगानाको हातमा सिमित फिल्म छन् । हालै मात्र 'भुलभुलैया' छायांकन सकेकी यी अभिनेत्रीले 'फूलै फूलको मौसम तिमीलाई'मा अभिनय गर्दैछिन् । उनको तर्फबाट आश मारिहाल्न पर्ने अवस्था भने छैन । तरपनि पहिलेको तुलनामा उनको चर्चा र व्यस्तता न्यून हुँदै गएको छ । 
 
निरन्तर अवार्ड जित्दै गएकी ऋचा शर्मा 'टलकजंग भर्सेस टुल्के' लिएर दर्शकमाझ आउँदैछिन् । उनी कम फिल्म गर्ने अभिनेत्रीको रुपमा गनिएकी छिन् तर वक्स अफिसमा उनको स्टारडमा खासै देखिएको छैन । यता नायिका अनु शाहका ४ वटा भन्दा बढि फिल्म प्रदर्शनका लागि तयार छन् । उनी यतिबेला निखिल उप्रेतीको निर्देशनमा बन्दै गरेको फिल्म 'भैरव'को छायांकनमा व्यस्त छिन् । उनी जती व्यस्त भएपनि लम्बे रेसको घोडा उनमा देखिन्न । 
 
बजारमा चर्चामा रहने अभिनेत्रीहरूको स्टारडमा भने देखिन्न । अभिनेत्रीहरू छन् भन्नका लागि मात्र छन् । नयाँ प्रवेशी अनुहारलाई फिल्म नगरीलाई अगाडी बढाउनु पर्ने दायित्व छ । तर, नयाँबाट अहिले नै आशा गर्न सक्ने अवस्था देखिएको छैन । 
 
दुई फिल्म बजारमा आइसक्दा अशिष्मा नकर्मीको हातमा आधा दर्जन फिल्म छन् । तर अगाडीका दुई फिल्म व्यापारिक रुपमा असफल भएपछि  अशिष्माको भविष्य अहिले नै केलाउन सकिन्न । अर्कोतिर, कलाकार विपना बस्नेतकी छोरी रिस्ता बस्नेतको हातमा पनि आधा दर्जन फिल्म छ । तर, उनको मुख्य भूमिका रहेको फिल्म 'यो कथा हो तिम्रो मेरो' असफल हुँदा उनलाई केही धक्का लागेको छ नै । 
 
छविराज प्रोडक्शनको ब्यानरमा तयार भएको फिल्म 'लज्जा'बाट डेब्यू गरेकी शिल्पा पोख्रलले 'हवल्दार सुन्तली'मा काम गरिन् । तर,  दुबै फिल्म प्रदर्शनमा नआएकाले उनले फिल्म नगरीलाई डोहोर्याउन सक्छिन् या सक्दिनन् भन्न सकिने अवस्था छैन । छविकै फिल्म 'लोफर'बाट डेब्यू गरेकी रजनी केसी हुन् या 'सिग्नेचर' डेब्यू हिरोइन नम्रता सापकोटा या उदाउँदै गरेकी रीमा विश्वकर्मा नै किन नहुन्, नयाँ पुस्तामा फिल्मप्रतिको माया र मोह देखिन्छ तर भविष्य देखिन्न । 
 
सेलिब्रेटीहुड विकास गर्न र दर्शकमा छाप छोड्न सफल हुन जरुरी छ । सिमित समयमा चर्चामा रहनु र लामो रेशको घोडा बन्नुमा फरक छ । करिष्मा मानन्धर, निरूता सिंह, झरना थापा, जल शाह, विपना थापा, पूजा चन्द, मौसमी मल्ल, तृप्ति, अरुणिमा लम्साल, संचिता लुइटेल, रेखा थापासम्मले अगाडि बढाएको यो क्षेत्रलाई नयाँ अभिनेत्रीले अगाडी बढाउन सक्लान् ?  
Most Visited News (monthly)