तेस्रो लिङ्गीको जीवन यात्रा समेटिएको डकुमेन्ट्री 'अञ्जली : एउटा पृथक यात्रा' निर्माण गरिएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मिडल वे फिल्मस्ले आउँदो असोज दुई गते शुक्रबारका दिन 'अञ्जली' प्रिमियर गरिने जानकारी गरायो ।
नुवाकोटको एउटा विकट गाउँमा नविन वाइवाको रुपमा जन्मिएको केटा कसरी अञ्जली अर्थात् तेस्रो लिङ्गी बन्यो भन्ने कथा समेटिएको डकुमेन्ट्री 'अञ्जली'लाई मोहन राईले निर्देशन गरेका हुन् । यस डकुमेन्ट्री निर्माण गरेर एउटा तेस्रो लिङ्गी मार्फत तेस्रो लिङ्गीहरुको संसार भित्र छिर्ने जमर्को गरेको बताउँदै निर्देशक मोहन राईले भने, 'तेस्रो लिङ्गीले भोग्ने विभेद, लाञ्छना, वर्तमानमा भोगिरहेको संघर्ष र भविष्यको आशालाई 'अञ्जली' मार्फत उजागर गर्ने जमर्को गरिएको छ ।’
‘नविनदेखि अञ्जलीसम्मको यात्रा कसरी सम्भव भयो ? भन्ने मुख्य घटना बोकेको यो ५० मिनेटको डकुमेन्ट्रीले दर्शकलाई तेस्रो लिङ्गीको रोचक दुनियाँ र तेस्रो लिङ्गी भएर बाँच्नु पर्ने चुनौतीलाई देखाउन खोजिएको निर्देशक राईले बताए ।
कार्यक्रममा उपस्थित अञ्जली लामाले डकुमेन्ट्रीमा तेस्रो लिङ्गीलाई प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको बताईन् । डकुमेन्ट्रीले तेस्रो लिङ्गीको बारेमा समाजले हेर्ने दृष्टिकोणमा थोरै भएपनि परिवर्तन गराउने विश्वास लिएको अन्जलीले बताईन् । पाँच जना दाजुभाइमा कान्छा नविन एसएलसी दिएर नुवाकोटबाट काठमाडौं आएपछि आफू तेस्रो लिङ्गी भएको चाल पएको अञ्जलीको भनाई थियो .

