सार्वजनिक कार्यक्रममा पत्रकार रिपोटिङका लागि पुग्छन् । फोटो पत्रकारहरु तस्बिर कैदका लागि पुग्छन् । तर, बढ्दो मोबाइलको प्रयोग र आफै फोटो खिच्ने र सामाजिक संजालमा पोष्ट गर्ने हतारोका कारण कार्यक्रममा रिपोर्टिङका लागि पत्रकार आएको हो कि फिल्मकर्मी छुट्याउन गार्हो पर्छ । मानौं उनीहरू नै रिपोर्टिङमा छन् । हतार उनीहरूलाई नै छ ।

दिनहुँजसो आयोजना हुने फिल्म सम्बन्धी कार्यक्रममा पत्रकार र फोटो पत्रकारका लागि आयोजक तथा उपस्थित फिल्मकर्मी नै बाधक बन्छन् । विशेषगरि फोटो पत्रकारका लागि उचित स्थानको व्यवस्था आयोजकले नगरिदिदा कार्यक्रममा विभिन्न समस्या उत्पन्न भएको देखिन्छ । गत शनिबार सम्पन्न नेपाल कलाकार संघको १३ औं साधारण सभा समारोहमा यस्तै देखियो ।
फिल्मकर्मीको सम्मान गर्न आयोजना भएको कार्यक्रममा फोटो खिच्न हतार पत्रकारलाई हैन उपस्थित फिल्मकर्मीलाई नै भएको थियो । यसैमाथि फोटो पत्रकारभन्दा अग्रस्थानमा बसेका फिल्मकर्मीले नै मोबाइल सोझ्याईदिंदा अप्ठ्यारो अवस्था श्रृजना भयो ।
फोटो खिच्न तम्सिएका पत्रकारहरुले कलाकर्मीलाई नउठिदिन, आफ्नो मोबाइलले नछेकिदिन बारम्बार आग्रह गर्नुपर्यो । जसका कारण, उनीहरुलाई राम्रो र स्पष्ट तस्बिर कैद गर्नका लागि समस्या उत्पन्न भएको देखियो ।









