Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकारिताको इतिहास

विजयरत्न तुलाधर, काठमाण्डौ, 2014/05/21

नेपालमा २००६ साल मंसिर २७ गतेदेखि सर्व साधारणले पनि चलचित्र हेर्न पाउने गरी काठमाडौं सिनेमा घर (पछि जनसेवा नामाकरण गरिएको) खुल्ला गरिएपछि त्यहाँ देखाइने चलचित्रबारे सबैले जानकारी पाऊन् भन्ने उद्देश्यले प्रचारको खाँचो महसुस गरियो । त्यसका लागि सिनेमा भवनको परिसर (कम्पाउण्ड) मा बसेर आकर्षक ढङ्गमा प्रर्दशनरत चलचित्रको कथा सुनाइरहने मान्छे नियुक्त गरियो र त्यो नै नेपालमा चलचित्रको प्रचार तर्फको पहिलो प्रयास हो ।

२००७ सालमा रेडियो नेपालको स्थापना भयो तर त्यत्तिबेला रेडियोमा चलचित्रको विज्ञापन निषेध गरिएको थियो । २०११ सालदेखि काठमाण्डौं उपत्यकामा चलचित्र भवनहरु खुल्ने क्रम शुरु भयो । तत्कालिन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले त्यत्तिबेला एकै पटक १३ वटा चलचित्र भवन खोल्ने अनुमति दिए । यसै क्रममा काठमाण्डौं उपत्यकामा दोस्रो चलचित्र घरको रुपमा २०११ असोज २६ का दिन जमलमा श्री हल खोलियो । श्री हल रहेको स्थानमा जमलमा अहिले चेम्बर अफ कमर्शको भवन खडा गरीएको छ भने जनसेवा हल रहेको स्थानमा अहिले विशाल बजार छ । २०११ साल मै विश्वज्योति हल पनि खोलिएको थियो ।

२०११ साल मै खोलिएका अरु हलहरुमा थापाथलीको “चलचित्र” पनि एक थियो । यसै बीच २०१३ साल सम्ममा खोलिएका हलहरुमा फोहोरा दरबार भित्रको हल, मुनलाईट, माइतीघर, नवदुर्गा, रञ्जना, जयनेपाल हुन् । ती मध्ये कतिपय चलचित्र भवनहरु राणाकालको दरबार वा उनीहरुसंग सम्बद्ध सभा समारोह मनाउने महल थिए ।

यसरी हलहरु खोलिन थाले पछि चलचित्रको प्रचारको महत्व पनि बढ्न थाल्यो । त्यत्ति नै बेला पहिलो सिने पत्रिकाको रुपमा २०११ कार्तिक १० गते “सिनेमा” प्रकाशित भयो । यो पत्रिका बाहेक आवाज, नयाँ समाज लगायतका पत्रिकामा चलचित्रको पुर्ण कथा छापेर दर्शकलाई आकर्षित गर्ने प्रयासको थालनी भयो । यसको लागि त्यस्तो कथा लेख्ने व्यक्तिलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था गरिन्थ्यो । जबकी त्यत्तिबेला करको नियम यत्ति कडा थियो कि हलका अंशियारहरुका पारिवारीक सदस्यले समेत आफ्नो अंश भएको हलमा सित्तै चलचित्र हेर्न सरकारबाट पास लिनु पर्ने व्यवस्था गरिएको थियो ।

शुरु शुरुमा त्यसता व्यक्तिले चलचित्र हेर्न पाएको भरमा आफ्नो पत्रिकामा कथा छापी दिन्थे तर पछि हलहरु बढ्दै गएपछि त्यसरी कथा छापिए बापत केही रकम पनि लिने चलन चल्यो । रेडियो नेपालले पनि २००९ सालदेखि एक मिनेटको एक रुपैंयाको दरमा चलचित्रको विज्ञापन गर्न थाल्यो । त्यसपछि गोरखापत्रमा पनि चलचित्रको विज्ञापन छाप्ने चलन शुरु भयो । गोरखापत्रको अन्तिम पृष्ठको दाहिने कुना हलवालाहरुको प्रिय स्थान हुने गर्दथ्यो ।

वि।सं। २०११ सालमा “सिनेमा” पत्रिकाले हिन्दी चलचित्र “औलाद”को बकायदा समीक्षा नै गर्यो । यसका समीक्षक अहिलेका मुर्धन्य साहियकार वयोवृद्ध श्यामदास वैष्णव हुनुहुन्छ । यसै पत्रिकाको सोही अङ्कमा अहिलेका वरिष्ठ साहित्यकार माधवलाल कर्माचार्यले “चैतन्य महाप्रभु” नामक हिन्दी चलचित्रको समीक्षा गरेका थिए ।

नेपालमा चलचित्रको विविध पक्षलाई समेटेर लखिएको पहिलो लेख “सिनेमा र यसको प्रयोग”का लेखक मुर्धन्य साहित्यकार एवं वरिष्ठ साहित्य समालोचक स्व। कृष्णचन्द्र सिंह प्रधान हुन् । यो लेख पनि “सिनेमा” पत्रिकामा नै छापिएको थियो ।

नेपाली चलचित्रको पहिलो समीक्षक को हुन् भन्नेबारे अहिलेसम्म पनि सत्य तथ्य प्रकाशमा आउन सकेको छैन । यस परिप्रेक्ष्यमा तत्कालिन शाही नेपाल चलचित्र संस्थानले बनाएको चलचित्र “मनको बाँध” बारे रमेशनाथ पाण्डे (भुतपुर्व मन्त्री)ले लेखेको “बाँध फुटेर छ लाख डुबे” शिर्षकको सामग्री नै नेपाली चलचित्रबारे लेखिएको पहिलो प्रामाणिक सामग्रीका रुपमा लिनुपर्दछ । त्यसपछि पी। खरेलले “कुमारी” र आदर्श नारी”को समीक्षा गरेको तथा दुुर्गानाथ शर्मा (नेपाल टेलिभिजनका भुतपुर्व महा प्रबन्धक)ले केही नेपाली चलचित्रको समीक्षा लेखेका थिए ।

२०४१ मंसीर १५ गते बाट प्रकाशन आरम्भ भएको सिने पत्रिका “कामना”को रजत (२५) अङ्कमा एकसाथ प्रकाशित 'सिलु', 'साईनो' र 'मायालु' गरी तीन चलचित्रको शुटिङ्ग रिपोर्ट नै नेपाली चलचित्र जगतको पहिलो शुटिङ्ग रिपोर्टहरु हुन् । ती मध्ये “सिलु” को रिपोर्ट लेख्ने सगुन हाल कामना प्रकाशनमा अध्यक्ष वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ हुन् भने विजय भनेर उल्लेख गरिएको रिपोर्ट विजयरत्न तुलाधरले लेखेका थिए ।

त्यसैगरी “कामना” को २५० अङ्क प्रकाशन भई अहिलेसम्म प्र्रकाशित नेपाली चलचित्र पत्रिका तर्फको यो सर्वाधिक प्रकाशित अङ्क हो भने यसभन्दा अघि साप्ताहिकको रुपमा प्रकाशित “रोहिणी” पत्रिकाले आफ्नो प्रकाशनको ११९ अङ्कसम्म पुर्याउन सफल भएको थियो ।

नेपाल टेलिभिजनको २०४२ साल माघ १६मा स्थापना भएपछि नेपाली चलचित्रका गीतहरु समेटेर निर्माया भएको “गीताञ्जली” बाहेक नेपाली चलचित्र सम्बन्धी समाचार र सुचना समेटेर टेलिभिजन कार्यक्रमको रुपमा नियमित रुपमा प्रसारण गरिएको पहिलो कार्यक्रम “सयपत्री” थियो । पछि यो कार्यक्रमको नाम फेरेर “छाँयाछवि” पनि राखियो । यस कार्यक्रमका प्रस्तोता भरत शाक्य हुन् ।

नेपाली चलचित्रको विविध पक्ष समेटेर अगाडि ल्याइएको “ईन्द्रेणी” पहिलो भिडियो म्यागजिन हो भने यसको निर्माण राजु मानन्धरले गरेका हुन् । इन्द्रेणी पछि सहेन्द्र श्रेष्ठको प्रयासमा अर्को भिडियो म्यागजिन “स्वर्णिम” प्रकाशमा ल्याइयो । यी दुबै भिडियो पत्रिकाको यात्रा धेरै लामोसम्म चल्न सकेन ।