'प्लिज बाहिर गईदिनुस्,' हायात रेजेन्सी होटलको लबीबाट सुरक्षा गार्ड कराउँदै थिए, 'तपाईं यहाँबाट जानु भएन भने प्रहरी बोलाउनु पर्छ ।' अभिनेता अक्षय कुमारको फिल्म सुटिङ हेर्न पुगेका उनका शुभचिन्तकलाई दिनभरी यसरी नै सुरक्षागार्डले छेउछाउमा नजिक पुग्न दिएनन् । उनको सुटिङ हेर्न पुगेका शुभचिन्तक दिनभर नै निराश देखिए ।
केहि दिन अगाडी हिन्दी फिल्म 'बसन्ती' (चलचित्र विकास बोर्डमा दर्ता भएको नाम)को सुटिङका लागि अभिनेता अक्षय कुमार र अभिनेत्री तपसी पन्नु सहितको जम्बो टोली नेपाल आयो । नेपालका बिभिन्न स्थानलाई क्यामेरामा कैद गरिरहँदा सुटिङ हेर्न पुगेका शुभचिन्तकले भेट्न त के टाढैबाट आफ्नो मोबाईल तथा डिजिटल क्यामेरामा उनीहरूको तस्विर कैद गर्न पाएनन् ।
'प्लिज एक पटक नजिकबाट हेर्न दिनुन,' सुरक्षा दिन खटिएका प्रहरीसमक्ष बिन्ती बिसाउँदै एक युवती भन्दै थिईन्, 'फोटो खिच्न नदिएपनि हेर्न त दिनु ।' सुरक्षाकर्मीले भने, 'हामीलाई नजिक जान नदिनु भन्ने आदेश आएको छ । त्यसैले यहाँबाट गईदिनु होला ।'
सुटिङका एक सदस्य कराए, 'अरे ओ भाईसाब उनको हटाओ, टेक लेनेका समय हो गया है ।' करिब आधाघण्टाको व्यवस्थापन पश्चात अभिनेत्री तपसी र अभिनेता शुशान्त सिंहले टेक दिए । टेरअटेर गरेर होटल परिसरमा उभिरहेका दर्शकको आँखा भने डुलिरहेको थियो । पानी दर्कियो । कलाकार र प्राबिधिक होटल भित्र छिरे । दर्शकहरू पनि तितरबितर भए ।
समयको सदुपयोग गर्दै होटलको लबिमा क्यामेरा सेट गरियो । 'एक पटक त हेरेरै निस्कन्छु,' एक युवकले होटलको कर्मचारीलाई सोधे, 'अक्षय कुमार कतिबेला निस्कन्छ दाइ ?' ति कर्मचारीले सहज उत्तर दिए, 'मैले त देख्न पाएको छैन । अब कतिबेला भन्नु ? एकछिन कुर्नु न ।'
झण्डै दुई घण्टा पश्चात अक्षय कुमार दायाँ र बाँया ज्याङ्गो शरिर भएका बडीगार्ड साथमा लिएर लबिमा प्रवेश गरे । सुरक्षाकर्मी पुन: जुर्मुराए र अक्षयलाई हेर्न तम्सिरहेका शुभचिन्तकलाई धकेल्दै निकाल्न थाले ।
बाहिर गेटमा खटिएका सुरक्षा गार्डले म छिर्ने बित्तिकै भनेका थिए, 'सुटिङ हेर्न आउनु भएको होला । मैले त अहिलेसम्म उसको टाउको समेत देख्न पाएको छैन । फर्किए हुन्छ भाइ ।' उनले बुझेनन् म किन त्यहाँ जाँदैछु । मलाई अक्षय कुमार भेट्न हैन त्यहाँको बस्तुस्थिती बुझ्नु थियो । बुझें पनि ।
मैले आफ्नो काम सकें । दिनभरीको भोकले आत्तिएको थिएँ तर लगातार पानी परिरहँदा साँझ ६ बजेसम्म प्रहरीको धकेलाईमा म पनि परें । दर्शक नै भएर बसें अनि सुटिङको रमिता हेरें ।
बसिरहँदा उक्त फिल्ममा ड्राईभरको छोटो भूमिका निर्वाह गर्न पाएका कलाकार कृष्णभक्त महर्जनलाई भेटें । प्रश्न गरिहालें, 'दाइ, यो फिल्मको बारेमा केहि भन्दिनु न ।' केहि डर मानेजस्ता देखिएका महर्जनले भने, 'मलाई त फिल्मको नाम पनि थाहा छैन । के भन्न सक्छु र ? फेरि हामीलाई केहि नबोल्ने आदेश आएको छ ।'
सुटिङ सेटमा भेटिएका एक प्राबिधिकले कथाको थोरै 'हिन्स' दिए । नेपालको एयरपोर्टको अवस्थालाई देखाउने भन्ने सुनेको छु । हिरोको क्यारेक्टर अलि फटाहा जस्तै छ रे !' उनले अझै ४ दिन नेपालमा सुटिङ हुने जानकारी दिए । झन्डै ३५ को हाराहारीमा नेपाली प्राबिधिक कार्यरत उक्त सुटिङमा कलाकारसँग बोल्ने हिम्मत कसैले नराखेको ति प्राबिधिकले बताए ।
सुटिङको ब्रेक लिएर लबि छेउमा बसिरहेका तपसी र शुशान्तलाई भेट्ने इच्छा जाग्यो । स्विकार गर्छन् कि भन्ने आशले अभिनेत्री तपसी र अभिनेता शुशान्तलाई मौका छोपेर फोटोको लागि आग्रह पनि गरियो । तपसीले आफ्नै भाषामा भनिन्, 'हामीलाई फोटो नखिचाउनु भन्ने आदेश छ । सरी !' उनी थोरै मुस्कुराईन् मात्र । दिनभर उभिनुको सार्थकता उनको त्यहि मुस्कान नै थियो त ?
'चस्मे बदूर' अभिनेत्रीको मुस्कानले दिनभरको थाकान र भोकलाई बिर्सायो । पानी पनि रोकियो । अक्षयलाई नजिकबाट नियाल्दै तपसीको मन्द मुस्कानलाई सम्झदै कार्यालय तर्फ सोझिएँ । फर्कदा बाटोमा मनमा धेरै कुरा खेले । लाग्यो बलिउडका कलाकार यसै 'स्टार' बनेका छैनन् ।

