फिल्म देखाएरै फिल्म हलमा आफ्नो जिवनको अमूल्य समय व्यतित गर्ने व्यक्तिहरू मध्येका एक हुन्, विश्वनाथ चटर्जी । नेपालगञ्जको लक्ष्मी चलचित्र भवनबाट फिल्म देखाउने जागिर पाएका विश्वनाथ अहिले नेपालगञ्जकै बागेश्वरी हलमा म्यानेजरको रूपमा कार्यरत छन् । ६० बर्षसम्म फिल्म देखाउने काम गर्दै आएका यिनै ८७ बर्षिय विश्वनाथलाई नजिकबाट चिनाउने प्रयास गरिएको छ ।
विश्वनाथ स्वर्गिय बुवा जितेन्द्र नाथ चटर्जी र आमा हेमन्त कुमारि चटर्जीको कान्छो सुपुत्रको रुपमा नेपालगञ्जमा जन्मिएका हुन् । परिवारको कान्छो छोरो साथै बाबुको स्वास्थ्य क्षेत्रमा जागिर भएकाले करिब १० बर्ष उमेर सम्म बाबुसंगै नेपालको झापा, चितवन, डोटी, सुर्खेत, दाङ, कपिलबस्तु लगायत बिभिन्न क्षेत्रहरुमा जानुपर्ने भएकाले उनको अध्ययनले गति लिन पाएनन् । भारतको बनारसमा गएर एस.एल.सी. सम्मको अध्ययन पूरा गरेका विश्वनाथको बाल्यकाल भने सुखमय थियो ।
२१ बर्षको उमेरमा स्टार फार्मेसिमा काम गर्दा गर्दै दाङको कोईरालावासमा बसि करिब १ बर्ष त्यहाँको जनतालाई सेवा गरिसकेपछि नेपालगन्जमा रहेका आफ्नो माईलो दाई पूर्ण चन्द्र चटर्जीसँग सल्लाह गरि औषधी पसल खोली ब्यबसाय शुरु गरे । त्यही औषधी पसलमा औषधी गर्न आएका पाल्पाका नारायण बिक्रम शाह र बि.पि.शर्मासंग भएको परिचय नै आफ्नो लागि अविश्मरणीय भएको उनी सम्झन्छन् ।
हालसम्म गर्दै आएको फिल्म देखाउने जागिर उनीहरुकै श्रेय भएको विश्वनाथ मान्दछन् । पाल्पाका शाह र शर्माले नेपालगन्जको शितलनगरमा लक्ष्मी चलचित्र भवन निर्माण गरेपछि म्यानेजर भई कार्यवाहक सम्हाल्न अनुरोध गरेपछि आफ्नो फिल्म हल तर्फको जागिर यात्रा शुरुवात गरेका चटर्जी हाल सम्मको जागिर पनि फिल्म हलमा गर्दै आएका छन् ।
शुरुको जागिर अवधिमा मासिक भारु रु. ६० पाईने चटर्जी हाल सम्मको परिवर्तन देखेर अचम्म पर्दछन् । बि.सं. २०११ सालदेखि २०३० सालसम्म हिन्दी फिल्म चलाउदै आएका उनी त्यती बेला प्रति व्यक्ति टिकेट दर २ आना त्यसपछि क्रमशः १० आना, रु.२, ५, १०, १५, २५, ३०, ४०, ५०, ६० भयो । हाल एउटा टिकटको मूल्य रु.७० छ । 'त्यो बेला र अहिले धेरै कुरामा परिवर्तन आएको छ, 'विश्वानाथ सुनाउँछन्, 'यसरी परिवर्तन हुन्छ जस्तो लागेको थिएन ।'
२०११ सालदेखि २०४६ साल सम्म लक्ष्मी चलचित्र भवनको म्यानेजर पदमा बसेका चटर्जीले तत्कालीन राजा महेन्द्र बिक्रम शाह र रत्न राज्य लक्ष्मी शाहलाई ‘औरत’ र ‘स्कुल मास्टर’ नामक दुईवटा हिन्दी फिल्म देखाएका थिए । फिल्म देखाउने क्रममा सुमधुर सम्बन्ध बनाउन सफल चटर्जी तत्कालीन राजा महेन्द्रबाट २ पटक भारु रु ४ हजार सहित पुरस्कृत भएका थिए । 'त्यो बेला म आफूलाई निकै भाग्यमानी सम्झें र अत्याधिक खुसी पनि भएँ,' चाउरी परेका गालालाई उज्यालो पार्दै उनले भने ।
२०४६ सालअघि हिन्दी फिल्म चलाउन बर्षमा चार पटक कलकत्ता नियमित जाने चटर्जी त्यतिबेला फिल्मको बजार निकै राम्रो भएको सम्झदै नेपाली फिल्म थोरै संख्यामा बनेपनि व्यापार राम्रो हुने गरेको बताउँछन् । 'त्यो बेला थोरै फिल्म बन्थे तर दर्शक धेरै हुन्थे । अहिले फिल्म धेरै बन्छन् तर दर्शक थोरै छन्,' उनले सुनाए ।
शुरूवातबाट काम गरेको लक्ष्मी चलचित्र भवन रामजी श्रेष्ठले ठेक्कामा लगेका कारण चटर्जी २०४६ सालमा आएर बागेश्वरी चलचित्र भवनमा प्रो. रामनारायण श्रेष्ठको आग्रहमा म्यानेजर पदमा नियूक्त भए । 'फिल्म हलमा प्रवेश गरेपछि अन्त जागिर खाने इच्छा नै आएन,' चटर्जीले भने, 'जीवनको महत्वपूर्ण कालखण्ड नै यो क्षेत्रमा विताएँ । अरू ठाउँमा गएको भए के हुन्थें थाहा छैन तर जहाँ छु खुसी नै छु ।'
६० बर्ष फिल्म हलमा काम गरेका ८७ बर्षिया चटर्जी हाल पनि फिल्म हलकै म्यानेजर पदमा छन् । सायद समयमै सरकारी जागिरे भएको भए सरकारी सेवा सुविधा पाई सुखी जिवन जिउन सहयोग पुग्ने उनलाई नजिकवाट चिन्नेहरु बताउँछन् । त्यो समयमा थुप्रै अवसर पाएपनि आफुलाई सरकारी जागिरको कहिल्यै लोभ नभएको उनी बताउँछन् ।
२ छोरा र दुई छोरीको बुवा चटर्जी विहान ५ बजे उठेर नुहाउनु, नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर गई पूजा गरि मात्र पानी मुखमा राख्नु, बिहान १० बजे जागिरमा गई बेलुकी ५ बजे घर फर्कनु उनको दिनचर्या हो । 'अबको बाँकी समय पनि यसरी नै वित्नेछ,' उनले भने ।
लगनशिल र लामो समयदेखि बिश्वासिलो भई काम गर्दै आएका चटर्जीलाई बागेश्वरी चलचित्र भवनका प्रोप्राईटर राम नारायण श्रेष्ठले मात्र होईन सिंगो बाँके जिल्ला बासीले बिश्वास गर्छन् । उनी यस बाँके जिल्लामा मात्र नभएर फिल्मकर्मीहरु माझ 'जगत काका'को उपनामले परिचित छन् । हाल नेपालगन्जमा मात्रै होईन मध्यपश्चिममा नै राम्रो परिचय बनाएका उनी पछिल्लो समयमा खस्कदै गरेको फिल्म बजारप्रति भने चिन्तित छन् ।
पहिले पहिलेका फिल्म प्राविधिक रूपमा अब्बल नभएपनि दर्शकको मन छुने खालका हुने गरेको बताउने चटर्जीले अहिलेका फिल्मले दर्शकलाई खासै आकर्षित गर्न नसकेको तितो यथार्थ पोखे । तर उनले प्राबिधिक रूपमा फिल्मको विकास भएको सुनाए । 'विस्तारै राम्रो हुँदै जान्छ कि,' उनी निराश देखिएनन् ।