स्व.गायक फत्तेमानद्धारा स्वरवद्ध ‘मर्न बरु गाह्रो हुन्न...’ बोलको गीत फिल्म ‘मोक्ष’ निर्देशक प्रविन श्रेष्ठको जीवनमा विपरीत भइदियो । निर्देशक श्रेष्ठले मर्न भनी एक मुठी स्लिपिङ ट्याब्लेट्स (निद्रा लगाउने औषधी) तयार गरे । पटकपटक चक्कुले हात काटे । हात काट्दा असैह्य पिडा भयो । स्लिपिङ ट्याब्लेट्स खाने हिम्मत आएन । मृत्युको सोचलाई जितेर अगाडी बढे र आज निर्देशकको रूपमा चिनिए ।
‘मर्न खोज्दा त यति पिडा हुँदो रहेछ, मर्नै लाग्दा हुने पिडाको मैले कल्पनै गर्न सकिन,’ निर्देशक श्रेष्ठले आफ्ना पिडादायी विगतलाई फिल्मीखबर समक्ष पल्टाए- ‘मर्न धेरै गाह्रो हुँदो रहेछ ।’ के देखेर हार मान्दै टिनेजर्स ठिटोलाई मर्ने सोच आयो ? पुस २२ को साँझ एक मःम पसलमा हिव्लचियरको चकटी फेर्दै प्रविनले सुनाए- ‘२०५४ सालमा मेरो जीवनमा कहिल्यै निको नहुने घटना घट्यो । एक दुर्घटनामा परेर मेरो 'स्पाईनल कर्ड इन्जुरी' (मेरुदण्ड पक्षघात) हुन पुग्यो ।’ कसरी भयो दुर्घटना ? प्रविनले यो जिज्ञासालाई फिल्म ‘मोक्ष’ले मेटाउने जवाफ दिए ।
सुनिल मानन्धरको लगानीमा निर्माण भएको फिल्म ‘मोक्ष’ प्रविनकै जीवनकथामा आधारित छ । मोक्ष आउँदो माघ २४ गते अल नेपाल प्रदर्शन हुनेछ । झन्डै एक सय बढी म्यूजिक भिडियोका निर्देशक तथा सम्पादक प्रविनले ‘मोक्ष’मा किन आफ्नै कथालाई प्लट बनाए ? उनले प्रष्ट्याए- ‘मैले जुन दुर्घटना भोंगे, यस्तो अरुलाई पनि पर्न सक्छ भन्ने सम्भावनालाई मोक्षमा देखाउन खोजेको हुँ ।’ तपाईंको जीन्दगीलाई अरुले किन हेर्ने ? प्रविनले भने- ‘नेपालमा मेरुदण्ड पक्षघातीको संख्या बढ्दो छ । यो फिल्मले सम्बन्धित पक्षलाई झकझक्याउँछ भन्ने मेरो विश्वास हो । अर्को पक्ष भनेको सपाङ्ग व्यक्तिले पनि अपाङ्गता भएका व्यक्तिको पिडा बुझ्नु पर्छ भन्ने हो ।’

प्रविनलाई कहिलेकाहिं जीवन देखि दिक्क पनि लाग्छ जब अरूले आफूप्रति दयाको भाव देखाउँछन् । त्यसैले प्रविन भन्छन- ‘मलाई दया हैन माया देऊ ।' दया देखाउनहरुलाई घृणा गर्ने प्रविन कुनै ट्याक्सी चालकले ‘म तपाईलाई लैजान्न’ भन्दा पनि निराश हुनुको साटो खुसी हुन्छन् । किन ? प्रविनको जवाफ छ- ‘मलाई उस्ले दयाको भावले हेरेन ।'
निर्देशकले फिल्मको थिमलाई जोड दिए- ‘सबैको सपना पुरा हुन्छन् भन्ने छैन । सबै जना सपाङ्ग नै हुन्छन् भन्ने पनि छैन । सपना पुरा नहुँदैमा र अपाङ्ग हुँदैमा जीवन सकिन्छ भन्ने भ्रमलाई यो फिल्मले हटाउँछ ।’ तपाईंको जीवनमा कुनै त्यस्तो भ्रम थियो ? प्रश्न गरियो । ‘जब म दुर्घटनामा परेर दुई बर्ष बेडमा बसें, मलाई लाग्यो जिन्दगी सकियो । बाँचेर केही हुनेवाला छैन । मर्न खोजें तर झन् पिडा भयो ।’ प्रविन रोकिएनन्- ‘शरीरको आधा भाग नै नचल्ने भएपछि कसरी कमाउनु ? त्यसैले माया गर्ने मायालुलाई पनि आफैले टाढा गराएँ । टाढा हुन उनको चाहना थिएन ।’
अहिलेको स्थितिमा आउन कसरी सम्भव भयो त ? प्रविनले सम्भावनाको रहस्य खुलाए- ‘सामाजिक सोच, भौतिक संरचना र साथीभाइ तथा आफन्तको सहयोग भयो भने हरेक अपाङ्गताको जीवन सहज र सरल हुन्छ । मलाई यी सबै तत्वको सहयोग छ । जीवनमा मैंले माया गर्ने मान्छे पनि भेंटे । हाम्रो एउटा छोरो पनि छ ।’ कुनै समय आफुलाई परिवारको बोझ सम्झने प्रविन हाल त्यही परिवारको सहयोगी बनेका छन् ।
दुर्घटनामा पर्दा आफैंलाई कस्ले पालिदियोस् ? भन्ने प्रविन अहिले आफु सहित श्रीमती, छोरा र परिवारका अन्य सदस्यलाई पाल्न सक्ने सामर्थ्य राख्छन् । म्यूजिक भिडियो सम्पादनमा महंगा मानिने प्रविनले मोक्ष प्रोडक्सन सञ्चालनमा ल्याएका छन् । यो प्रोडक्सनसँग झन्डै आधा दर्जन दक्ष शक्ति आवद्ध छ । प्रविनलाई बेलाखत लाग्ने गर्छ, ‘जीवन सहज छैन ।’ तर साथीभाई तथा आफन्तले उनको जीवन सहज बनाइदिएका छन् । प्रविन भन्छन्- जब तपाईले अरुलाई केही दिन सक्नुहुन्छ तब तपाई एक्लो हुनुहुन्न ।’
दुर्घटनापूर्व जीवनको अर्थ नभेटेका प्रविनले अहिले भने यसको अर्थ भेट्टाएका छन् । जीन्दगी बारे प्रविनको बुझाइ यस्तो छ- ‘जीवन सागरको गहिराइ र सगरमाथाको उचाइ जस्तो छ । जीवन गाँठो परेको धागो जस्तै लाग्छ । फुकाउँदा फुकाउँदै सकिन्छ ।’
गाँठो परेको जीवनमा तपाईंले देखेको सपना चाहि के हो ? प्रविनले सपना सुनाए, ‘फिल्म निर्देशन गर्छु भन्ने सपना पुरा भयो । ‘सक्षम’ नेपाल भन्ने संस्थामा आवद्ध भएर नेपालबाट 'अपाङ्गता' भन्ने शब्दलाई नै हटाउने अभियानमा जुट्छु । भौतिक संरचना र सामाजिक सोच भयो भने 'अपाङ्गता' शब्दको आवश्यकता रहँदैन ।' प्रविनको जीवनलाई हाम्रो सलाम !

