केहि समय देखि अमेरिकामा बस्दै आएकी चर्चित अभिनेत्री गौरी मल्ल आजभोली अलि बढि साहित्यिक हुन थालेकी छिन् । उनले हरेकदिन जसो आफ्नो फेसबुक पेजमा आफ्ना मनका भावनाहरू कविता मार्फत पोख्दै आएकी छिन् ।
गौरीले लेख्ने गरेका अधिकांश कविताहरू अलि बढि सेन्टी हुन्छन् । 'म रोमान्टिक कविता खासै लेख्दिन,' गौरी भन्छिन्- 'म रोमान्टिक छु तर मेरा कविताहरू सेन्टी हुन्छन् ।' बिसं २०३९ साल देखि नै कविता लेख्न शुरू गरेकी गौरीले अहिलेसम्म हजारौं कविताहरू लेखेको बताउँछिन् । उनी भन्छिन्- 'मेरा अधिकांश कविताहरू त हराएर गए । अहिले फेसबुक स्टोर गरेर राख्ने माध्यम बनेको छ ।' आफूलाई मन परेका कविताहरू हराउँदा निकै मन दुख्ने गरेको उनको भनाई छ ।
बिशेषत: कविहरू कि प्रेममा पर्दा कवि हुन्छन् कि प्रेम पछिको बिछोडमा । गौरी पनि यसकै एक प्रतिनिधि पात्र हुन् । उनी भन्छिन्- 'कविताका कुनै न कुनै हरफहरू मेरो जीवनसँग सम्बन्धित हुन्छन् । कहिले काहिं त नचाहेर पनि आफूलाई कविताका छन्दहरूमा मिलाएर राखेकी हुन्छु ।' बिचमा केहि समय कविता नकोरेकी गौरीले अहिले फिल्मकर्मी प्रकाश सायमीको प्रेरणाले गर्दा नियमित लेख्न थालेको बताईन् । उनले भनिन्- 'प्रकाश दाईले तिम्रो कविता निकै राम्रा छन्, लेख्न कहिल्लै नछोड्नु भन्नु भएपछि मैले भ्याएसम्म हरेक दिन एउटा कविता लेख्ने गरेकी छु ।'
साहित्यकार तथा फिल्मकर्मी चेतन कार्कीलाई आफ्नो अदृश्य गुरू मान्दै आएकी गौरीले चेतनले हिन्दी भाषामा लेखेको 'कल्पना टुट चुकि है' नामक पुस्तकबाट प्रेरित भएर नै कविता लेखनकार्यलाई तिब्रता दिएको बताईन् । उनी भन्छिन्- 'चेतन दाईलाई पनि थाहा छैन कि म उहाँको अदृश्य चेली भनेर ।' बिशेषत बिहानीको समयमा कविता कोर्न रूचाउने गौरी छिट्टै नै एउटा कविता संग्रह निकाल्ने तयारीमा छिन् । 'प्रकाश दाईले कविता संग्रह निकाल्न प्रेरित गर्नु भएको छ त्यसैले अब छिट्टै निकाल्छु,' गौरीले भनिन् ।
यस्तै गौरीले नियमित रूपमा हरेक साता एउटा कविता फिल्मीखबर मार्फत आफ्ना शुभचिन्तकहरूलाई लेख्ने भएकी छिन् । उनको कवितालाई फिल्मीखबरले साप्ताहिक रूपमा प्रकाशित गर्दै जानेछ । गौरीले आफ्ना कविता पढेर मात्र शुभचिन्तकहरूलाई कमेन्ट गर्न आग्रह गरेकी छिन् । उनी भन्छिन्- 'गौरीले लेखेको भन्ने बित्तिक कमेन्ट नगरिदिनु होला । मेरो कविताको गहिराईमा पुगेर कमेन्ट गरिदिनुभयो भने मलाई थप हौसला मिल्नेछ ।'
नजिकिंदै गरेको नारी दिवसको अवसर पारेर गौरीले नारीको भावनालाई समेट्दै कविता मार्फत यस्तो भावना पोखेकी छिन् -
आजको आधुनिक अनि आफुलाई सभ्य ठान्ने सामाजिक प्राणीहरुले छोरा र छोरी बिचको भेदभावलाई एउटा मानसिक रोगको रुपमा समाजमा व्याप्त बनाइसकेको छ । मलाई अत्ति दुखः लाग्छ जब म यस्ता पीडादायक मार्मिक घटनाहरु आजको समाजमा पाउने गर्छु । मेरो आजको यो कविता ती सबै बालिकाहरुको लागि जसले यस धर्तीमा आउने प्रयास त गरे तर यो सुन्दर संसारलाई भोग्ने सौभाग्य पाउन सकेनन् त्यो पनि सिर्फ अनि सिर्फ उनीहरुकै आफ्नै माता पिताको छोरा र छोरी बिचको भेदभावका कारण । र, मेरो कविता ती बालिकाहरुको लागि जो यस संसार मा आउन उत्सुक छन्, तैयारी गरिरहेका छन् । भगवानले उनीहरुको रक्षा गरुन् !
खुशी थिएँ म त्यस प्राचिरभित्र
ठान्थें राजकुमारी आफुलाई ,
मस्त तैरिन्थें जलावर्तमा ..
त्येही नै थियो
मेरो साम्राज्य पनि…,
म टेक्न चाहन्थें यो धर्ती
टाँसिन चाहन्थें आमाको छातीमा ,
ब्यग्र थिएँ नयाँ नाता बुन्न
ब्याकुल थिएं स्नेहको माला उन्न ..,
मेरो ब्याकुलतामा तुषारापात लाग्यो ,
एक पैचाशिक 'छोरी पो रहेछ ... '
को आवाजले मेरो अस्मिताको
भित्ता फोरेर भाग्यो ...,
बस् , के थियो...
त्येही मेरो पहिचान बन्यो ,
अनि पहिचानसंगै
मेरो अस्तित्व पनि बुत बन्यो ...,
जान्न चाहन्थें म ..
म किन तिमीहरुको लागि
अपरिचित भए ..?
किन तिमीहरुको नजरको
कसिंगर भएँ ..?
तितली झैँ पंख फिजाई
उड्नु मलाई पनि थियो ..
तरुललता बिच झुल्नु
मलाई पनि थियो ...
यो बिशाल बगियानको
म पनि केहि धुल हुँ ...
इश्वरको सुन्दर बागको
म पनि एक फूल हुँ ..
तर आधुनिक मानव सत्ताधारी
मेरो मनोबेदना सम्म पुग्न सकेन ...
येही भविष्यको आविस्कारक पनि हो ,
तिनीहरुले बुझ्नै सकेन ...!
जन्माउनु को मात्र पीडा हुने
जन्मिनुको चाहिं कसले बुझ्ने ...?
तेसैले होला जन्मिँदा नजन्मिंदै
प्लास्टिकको थैलो भित्र
कैद हुन्छु गरिइन्छु ...
सकिनसकी मसिना हातखुट्टा ,
चल्मलाइरहेकी हुन्छु ...
जीवन र मृत्यु बिचको संघर्षमा,
कहिले हिलोमा बजारिन्छु
कहिले आफ्नै सालनाल सितै जेलिन्छु ....
तथापी ....
मेरो कोशिश जारी छ !
मेरो युद्ध , मात्र युद्ध नभई
एउटा प्रश्नचिन्ह हो ..
इतिहास वर्तमान अनि
भविष्य प्रति गरिएको
आत्मसम्मान र मानवताको
शंखनाद पनि हो …
आफु बेरिएको यो
प्लास्टिक मात्र हैन
म ,
यस समाजमा व्याप्त
भ्रमलाई पनि
च्यातेर फाल्न चाहन्छु ..
म हमेशा छोरी भएर नै जन्मन चाहन्छु
जन्मिरहन चाहन्छु ..
युगौं युग युगौं युग ….

