Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मैनाको भुमिका गर्दा हरेक दिन रोएँ : अनिता

फिल्मीखबर, काठमाण्डौ, 2013/02/11

फाल्गुन ४ गते रिलिज हुन लागेको फिल्म मैनाकी मुख्य पात्र अनिता केसी अहिले खुसी पनि छिन् र दु:खी पनि । खुसी यसर्थमा उनले मैनाको घटनालाई नजिकबाट बुझ्ने मौका पाईन र फिल्म मार्फत दर्शकसामु मैनाको रूपमा उभिन पाईन् । दु:ख यसर्थमा अझै पनि मैनाको घटनाले उनलाई सताईरहेको छ र उनको परिवारको पिडा उनले मसहुस गरिरहेकी छिन् ।

२०६० फागुन ५ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएकी काभ्रेको खरेलथोककी १५ बर्षिया मैना सुनुवारको घटनालाई आधार बनाएर निर्माण गरिएको फिल्म मैनाको भुमिकामा अनिताले अभिनय गरेकी छिन् । आज भन्दा ४ बर्ष अगाडी १८ बर्षको उमेरमा फिल्म खेलेकी मैना १ बर्ष अगाडी नै बिबाह बन्धनमा बाँधिसकेकी छिन् । मैनाको भुमिका निर्वाह गर्न अनिता कसरी आईन् फिल्ममा ? र, उनले के बुझिन् त मैनाको बारेमा ? यहि बिषयमा फिल्मीखबरसँग अनिताले आफ्नो अनुभव यसरी साटिन् -

सानै देखि नाटक गर्थें अनि डान्स पनि सिक्थें । फिल्ममा काम गर्ने रूची थियो तर अवसर पाएकी थिईन । आजभन्दा करिब ४ बर्ष अगाडीको कुरा हो, मलाई लगनखेलको श्रीकला डान्स सेन्टरमा अनिता महर्जनले डान्स सिकाउनु हुन्थ्यो । डान्स सिकिरहेकै अवस्थामा म्याडमले मैना फिल्मको अडिसन शुरू भएको जानकारी पाएर मलाई पनि त्यहाँ लैजानु भयो । अडिसन दिएँ र सेलेक्ट भएँ । त्यतिबेला म +२ मा अध्ययनरत थिएँ ।

 



म अडिसनमा छानिन्छु जस्तो लागेको थिएन । कसरी छानिएँ म अचम्ममा पर्छु अहिले पनि । तर पनि काम गर्न सक्छु भन्ने त सानै देखि थियो । मैनाले भोगेको पिडालाई मैले नजिकबाट बुझेर फिल्ममा रियल अभिनय गर्नु सहज थिएन र मैले कोसिस गरें । सायद मैले राम्रै काम गरें भन्ने लागेको छ । मलाई अझै पनि सम्झना छ, सुटिङका दौरानमा म मैनाको घटना सम्झेर नरोएको दिन थिएन । त्यसैले पनि मलाई रूने सिन गर्दा ग्लिसिरिनको प्रयोग गर्न परेन । मेरो अभिनय हेरेर हो या मेरो भावना बुझेर हो फिल्मका सबै जनाको आँखा रसाएको हुन्थ्यो जब म अभिनय मार्फत मैनाको घटनाको नजिक पुग्थें ।

 


सुटिङ गर्नु पूर्व केहि दिन मैनाको आमा, बुवा र दुई भाईसँग मैले समय बिताएकी थिएँ । तो बेला नै मैले मैनाको घटना नजिकबाट बुझ्ने मौका पाएँ । मलाई त अझै पनि उहाँको आमाले मैनाकै रूपमा हेर्नु हुन्छ । उहाँ भन्नु हुन्छ- 'तिमी मेरी मैनाको अर्को रूप हौ । तिमीलाई भेटे पछि मैले आफ्नै छोरी भेटेको जस्तो हुन्छ ।' उहाँले यसो भन्दा म आफूलाई सम्हाल्न सक्थिन र आँखा रसाईहाल्थे । अहिले पनि उहाँको घरमा म आउने जाने गरिरहन्छु ।

 

एउटा निर्दोश बालिकामाथि जसरी पशुको व्यवहार देखाईयो त्यो अबका दिनमा कसैले भोग्नु नपरोस् भन्ने मेरो कामना छ । हुनत मैनाको भन्दा पनि डरलाग्दा घटना यो देशमा नघटेका हैनन् तर मैले मैनाको घटनालाई जति नजिकबाट बुझें त्यो नै मेरो लागि धेरै भईसकेको थियो । यस्ता घटनाहरू किन हुन्छन् भन्ने प्रश्नले मलाई बारम्बार घोचिरहन्छ । सायद नेपालमा बलियो कानुन र भएको खुकुलो कानुन पनि लागु नहुँदा यस्तो भएको हुनुपर्छ । तर पनि मलाई महिला भएकोमा पछुतो छैन ।

 


मलाई दु:ख लागेको छ मैनाको परिवारले अझै न्याय पाएको छैन । उनत अपराधीलाई सरकारले सजाय दिएको छ तर त्यो सजाय पूर्ण छैन । यस्ता पशुव्यवहार देखाउने अपराधीलाई कडा कारवाही हुनुपर्छ । यस्तो कारवाही गरिनुपर्छ कि जो कोहीले महिला माथीको हिंसाको बारेमा सोच्न पनि नसकोस् । तर बिडम्बना नेपालको लाचार सरकारले यस्तो नियम कसरी बनाउन सकोस् ?

साँच्चिकै भन्नुपर्दा मैना फिल्म मैना सुनुवारको घटनाको प्रतिबिम्ब हो । यसले मैना घटनालाई नजिकबाट देखाउने कोसिस गरेको छ । अझ यो फिल्मलाई त मैले देशभरी भईरहेका महिला हिंसा घटनाकै प्रतिबिम्ब भन्न रूचाउँछु । त्यसैले मेरो अनुरोध, एक पटक यो फिल्म हरेक बर्ग, समाज, परिवारले हेर्न जरूरी छ ताकी आगामी दिनमा मैनाले जस्तो पिडा अरूले भोग्न नपरोस् । मैनाको परिवार जस्तो अरू कसैको परिवार विस्थापित हुन नपरोस् । यो बिषयमा फिल्म बनाएर जोखिम मोल्ने निर्देशक केपी पाठकज्यूलाई त म आभार प्रकट गरिरहन्छु ।