म्याग्दीमा नेपालका आदीवासी जनजाती मगर समुदायको संस्कृतीमा आधारित रहेर नाम तय नगरिएको एक फिल्मको निर्माण सुरु भएको छ । पुनहिल फिल्मसले पुन मगरहरुको संस्कृती र ग्रामिण क्षेत्रमा बसोबास गर्ने मगर समुदायको पर्यटन व्यवसायलाई आधार बनाएर फिल्म निर्माण सुरु गरेको हो । फिल्मको म्याग्दी र कास्कीका पर्यटकीय स्थलका साथै पोखरामा छायांकन गरिने निर्माता मदन गर्बुजाले जानकारी दिए ।

छायांकनका लागि कलाकारहरुसंगै सोमबार बेनी आएका निर्माता गर्बुजाले प्राकृतिक सुन्दरता युक्त क्षेत्रमा बसोबास गर्ने मगर समुदायको संस्कृतीले पर्यटन प्रर्वद्धन गर्न खेलेको भुमिकाका विषयमा फिल्म बनाउन लागेको बताए । फिल्मको म्याग्दीको शिख स्थित खयरबाराही तालबाट छायांकन सुरु गरिने निर्देशक बिराज पिसीले जानकारी दिए । म्याग्दीको उत्तरी क्षेत्रमा बसोबास गर्ने पुन मगरहरुको परम्परासंग जोडिएका खयरबाराही, प्यारीबाराही लगायतका स्थानमा फिल्मको छायांकन गर्न टोली सोमबार त्यसतर्फ लागेको छ ।
खयरबाराही, प्यारीबाराही, खोप्रा लेक, शिख, पुनहील, घोरेपानी, उल्लेरी र पोखरामा १ महिना सम्ममा फिल्मको छायांकन सक्ने निर्देशक पिसीले बताए । 'पर्यटन र ग्रामिण जनजीवन तथा संस्कृतीको सम्बन्धलाई फिल्ममा उतार्छौ', निर्देशक पिसीले भने, 'कृषि, पशुपालन जस्ता ग्रामिण जनजीवनसंग समेटिने पक्षहरुलाई पनि फिल्ममा उतारिने छ ।' बैदेशिक रोजगारीसंगै अवसरको खोजीमा गाउँका युवायुवतीहरु बिदेश र शहर पस्दा पर्यटन व्यवसाय प्रभावित बन्न थालेपछि पर्यटकीय क्षेत्रका युवाहरु बिदेशिनु पर्दैन यही सम्भावना छ भन्ने सन्देश दिनका लागि फिल्म बनाउन लागेको निर्माता गर्बुजाले बताए ।

फिल्ममा म्याग्दीका कलाकार राजिन पुनको मुख्य भुमिका रहने छ । यसैगरी फिल्ममा नरेश पुन, नविना पुन, सिता पुन, गमन गुरुङको अभिनय रहनेछ । सुनिल थापा र धनबहादुर गुरुङको संगीत रहने फिल्मको नृत्यनिर्देशन सुवास राईले गर्दैछन् । फिल्मका गीत र नृत्यहरु मगर समुदायको परम्परामा आधारित हुने बताइएको छ । सालैजो, सोरठी, पुख्यौली लगायत भाका र नृत्यलाई फिल्ममा समेट्ने निर्माता गर्बुजाले बताए । पहिलो पटक फिल्ममा अभियन गर्ने अवसर पाएका स्थानीय कलाकार राजिन पुनले आफू उत्साहित भएको प्रतिक्रिया दिए ।

