
काठमाडौं । कालजयी नेपाली फिल्म ‘दर्पण छायाँ’का स्मृति र अभिषेक अर्थात् निरुता सिंह र उत्तम प्रधानले करिब २२ वर्षपछि सहकार्य गरेको फिल्म ‘सारथी’ यही मंसिर ११ गते प्रदर्शन हुँदैछ । गत शुक्रबार सार्वजनिक ट्रेलरले फिल्ममा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा रहेको प्रस्ट पारिसकेको छ । एक दृश्यमा उत्तमले निरुतालाई सिन्दूर हालेको देख्न सकिन्छ ।
उत्तम र निरुताले दुई दशकपछि सहकार्य गरेका कारण ‘सारथी’प्रति दर्शकको चासो उच्च देखिएको छ । शुक्रबार सार्वजनिक ट्रेलरमा समेत दर्शकले यो जोडीलाई लिएर उत्साह व्यक्त गरेका छन् । धेरैले यसलाई एउटा फिल्म मात्र नभई पुराना दिनहरूको पुनरागमनका रूपमा लिएका छन् । कतिले उत्तम र निरुतालाई वर्षौंपछि देख्दा ‘गुजबम्स’ आएको प्रतिक्रिया दिएका छन् ।
दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको ट्रेलरले युट्युबको ट्रेन्डिङमा समेत आफ्नो उपस्थिति जनाएको छ । यो समाचार तयार पर्दासम्म फिल्मको ट्रेलर १ लाख ३८ हजार भ्यूजसहित युट्युबको ‘मुभिज चार्ट’तर्फ ट्रेन्डिङको नवौं स्थानमा छ । ट्रेलरप्रति दर्शकले देखाएको उत्साह हेर्दा फिल्मले बक्स अफिसमा सुखद् व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।
कुमार गजुरेलको निर्देशन रहेको फिल्ममा निरुता र उत्तमसहित गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, आशा विश्वकर्मा, तुलसी राईलगायतका कलाकारहरूको पनि अभिनय छ । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्ममा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्मातामा छन् ।

