
काठमाडौं । २०८१ सालमा प्रदर्शन भएको फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनेता निश्चल खड्काले अभिनयमा राम्रो सम्भावना देखाएका थिए । यो उनको डेब्यू फिल्म थियो । तर, यसपछि उनी २ वर्षसम्म ठूलो पर्दामा देखिएनन् । अब भने उनी नयाँ फिल्म ‘अरिङ्गाल’मार्फत अभिनयमा फर्किएका छन् । यो फिल्मको बिहीबारदेखि पर्वत जिल्लाको राम्जा क्षेत्रमा छायांकन भइरहेको छ ।
फिल्ममा निश्चलको जोडी सोफी धरेलसँग बाँधिएको छ । अभिनयको हिसाबले सोफीको यो दोस्रो फिल्म हो । उनले फिल्म ‘जुबा’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन्, जुन प्रदर्शन हुन बाँकी छ । फिल्ममा आउनुअघि उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी थिइन् । फिल्मका अन्य कलाकार र प्राविधिकबारे भने जानकारी गराइएको छैन ।
ट्रु इन्टरटेनर्सको ब्यानरमा निर्माण हुने फिल्मलाई अमृतो स्वामीले निर्देशन गरिरहेका छन् । फिल्ममा प्रेम भोम्जन (पुष्कर लामा) लाइन प्रोड्युसरका रूपमा छन् । फिल्मको राम्जापछि करिब एक महिना काठमाडौं उपत्यकामा छायांकन हुने जनाइएको छ । निर्माण पक्षले फिल्मको कथावस्तुबारे जानकारी नदिए पनि शीर्षकले भने यो एक्सन–लभस्टोरी रहेको संकेत गर्छ ।

