
काठमाडौं । अभिनेत्री पूजा शर्मा र गायक तथा अभिनेता अशोक दर्जीलाई मुख्य भूमिकामा लिएर फिल्म ‘सेतो कोट’ निर्माण हुने भएको छ । शुक्रबार बिहान कोटेश्वर महादेवस्थान मन्दिरमा शुभमुहूर्त गरेपछि नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । फिल्मको छायांकन मंसिर ९ गतेबाट सुरु हुनेछ ।
शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा पूजा र अशोकसहित नीर शाह, समी दाहाल, पवन खतिवडा, विष्णु सापकोटा, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाललगायतका कलाकारको अभिनय रहनेछ । टिकटकमा ‘माइली बुहारी’का रूपमा चर्चित समीले यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्न लागेकी हुन् ।
मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ हुन् । मिनुले यसअघि अशोकलाई लिएर फिल्म ‘मन बिनाको धन’ निर्माण गरेकी थिइन् । यो उनको दोस्रो निर्माण हो । फणीन्द्र तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा सौरभ लामाको डीओपी (छायांकन), बन्दे प्रसादको सम्पादन तथा स्टिभ शंकरको संगीत रहनेछ ।
फिल्म घोषणा कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले नेपाली फिल्ममा कमै उठान हुने विषयलाई मनोरञ्जनात्मक र सिनेम्याटिक शैलीमा प्रस्तुत गर्न लागिएको बताए । फिल्मको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको उनको भनाइ छ । फिल्मले समाजलाई नयाँ दृष्टिकोणले हेर्न प्रेरित गर्ने पनि उनको विश्वास छ ।

