
काठमाडौं । यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘जलाकी’को अग्रिम टिकट बुकिङ खुला भएको छ । ‘रामायण’ र ‘बाटुलो जून’को दबदबाका बाबजुद फिल्मले सुखद शो पाएको छ । फिल्मले पहिलो दिन देशव्यापी ६१ शो प्राप्त गरेको खल्ती एपमा देखिन्छ । अझै केही हलहरूमा बुकिङ खुल्न बाँकी रहेकाले फिल्मको शो ७० माथि पुग्ने आकलन गरिएको छ ।
फिल्मले सबैभन्दा धेरै शो क्यूएफएक्स चेनमा पाएको छ । उपत्यकाभित्र र बाहिरका क्यूएफएक्स हलमा फिल्मलाई कुल २७ शो दिइएको छ । देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआइले काठमाडौं र उपत्यकाबाहिरका हलमा समान ६-६ शो उपलब्ध गराएको छ । फिल्मले देशव्यापी उपलब्ध शोमा ५० प्रतिशत मात्रै पनि अकुपेन्सी हासिल गरे ४० लाखमाथिको ओपनिङ हुनेछ ।
फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ । सेन्सरका सदस्यहरूले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्माण टिमले जनाएको छ । ‘चाँदी जलप’ गीतका कारण चर्चामा रहेको फिल्मले मगर संस्कृतिलाई केन्द्रमा राखेर त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।
अशोक थापा मगरको निर्देशनमा बनेको फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, साहारा हाङ्मा लिम्बू, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, लुनिभा तुलाधर, खड्क बहादुर पुनलगायतका कलाकारको अभिनय छ । फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायांकन तथा अशोक थापा मगरको सम्पादन छ ।

