
काठमाडौं । भारतीय फिल्म ‘रामायण’ र नेपाली फिल्म ‘बाटुलो जून’को व्यापारिक दबदबाबीच शुक्रबार (आज)बाट दुई फिल्म ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फिल्म विषयवस्तुका हिसाबले फरक भए पनि कथाको केन्द्रमा महिला पात्र छन् । ‘जलाकी’मा उपासना सिंह ठकुरी र ‘हिमालयन गोल्ड’मा परीक्षा लिम्बूको मुख्य भूमिका छ ।
दुई फिल्ममा सबैभन्दा बढी शो ‘जलाकी’ले पाएको छ । यसलाई देशभरका हलमा ७२ शो उपलब्ध छ । ‘हिमालयन गोल्ड’ले भने ३२ शो पाएको डिजिटल वालेट खल्ती एपमा देखिन्छ । तर, दुवै फिल्मको अग्रिम टिकट बुकिङ अपेक्षित देखिएको छैन । अब दर्शकबाट कस्तो प्रतिक्रिया प्राप्त हुन्छ, त्यसले दुवै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ ।
अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको ‘जलाकी’मा उपासनासहित सोनम तोप्देन, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, विजय लामा, शिल्पा मास्के, राजु रेग्मी मगर, भावना मगर, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ । फिल्मले मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।
धीरज राजवंशीको लेखन तथा निर्देशनमा बनेको ‘हिमालयन गोल्ड’ भने यार्सागुम्बाको कथामा आधारित छ । नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको फिल्ममा परीक्षासहित सुनील थापा, कर्मा शाक्य, मेनुका प्रधान, राहुल मुखिया, सजन थापा, ऋषिकेश बस्याल, सुनिल तामाङ, अंकित खड्का, सेविता अधिकारी, तेन्जिङ ठकुरीलगायतका कलाकारको अभिनय छ ।

