काठमाडौं । नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण: राइज अफ अ लेजेन्ड’ले भारतसँगै नेपालमा पनि आक्रामक कमाइ गरिरहेको छ । ५ नोभेम्बरमा रिलिज भएको फिल्मले १५ दिनमै नेपालमा २४ करोडको आँकडा पार गरेको छ । बिहीबार बेलुकासम्म फिल्मले २४ करोड ५५ लाख रूपैयाँ ग्रस कमाइ गरेको नेपालको वितरक कम्पनी एप्पल इन्टरटेन्मेन्टले जनाएको छ ।
योसँगै ‘रामायण’ नेपालमा सर्वाधिक कमाइ गर्ने दोस्रो विदेशी फिल्म बनेको छ । यसअघि यो स्थानमा ‘बाहुबली २’ थियो, जसले नेपालमा २३ करोड रूपैयाँ कमाएको थियो । अब ‘रामायण’को नजर पहिलो स्थानमा छ । त्यसका लागि फिल्मले ‘पुष्पा २’को २६ करोड ४६ लाख रूपैयाँको कमाइलाई उछिन्नुपर्नेछ । फिल्मको व्यापारिक रफ्तार हेर्दा यो रेकर्ड यसै साता तोडिने देखिन्छ ।
फिल्मले प्रदर्शनको ८ दिनमै नेपालमा १६ करोडमाथिको व्यापार गरेको थियो । नेपालमा यति चाँडो १६ करोड कमाउने यो पहिलो विदेशी फिल्म हो । फिल्मले तिहारको अवसरमा एक दिनमै २ करोड ४८ लाख रुपैयाँसम्म ग्रस कमाइ गरेको थियो । यतिबेला तेस्रो सातामा प्रदर्शन भइरहेको फिल्मले अझै पनि दैनिक ३० लाखसम्म व्यापार गरिरहेको जनाइएको छ ।
फिल्मले भारतमा भने प्रदर्शनको १५ दिनमा ८६३ करोड भारु नेट कमाइ गरिसकेको छ । यसमा सबैभन्दा ठूलो हिस्सा हिन्दी संस्करणको छ, जसले ६५७ करोड भारु नेट कमाएको छ । फिल्मको विश्वव्यापी कमाइ भने १५ सय करोड भारु नाघेको छ । दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा फिल्मले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ ।

