काठमाडौं । यही मंसिरबाट छायांकन सुरु हुन लागेको फिल्म ‘पच्चीस पच्चीस’मा कलाकारको लाइनअप पूरा भएको छ । गत साउनमा फिल्मको घोषणा हुँदा मुख्य भूमिकामा अबिषेक खड्का, खुसी कार्की, प्रमोद अग्रहरी र अमित सुब्बा (भक्ते भाइ)को अभिनय रहने जानकारी गराइएको थियो । अब फिल्ममा अन्य केही कलाकार पनि थपिएका छन् ।
फिल्ममा सरोज खनाल, दीपाश्री निरौला, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलाई अनुबन्धित गरिएको निर्देशक सुब्रत आचार्यले जानकारी दिए । उनका अनुसार फिल्म सामाजिक−कमेडी विधामा निर्माण हुनेछ । फिल्ममा भरपुर मनोरञ्जनका साथै सामाजिक विषयलाई पनि प्रस्तुत गरिने उनले बताए । फिल्म नेपाली माटो सुहाउँदो हुने उनको दाबी छ ।
सुब्रत आचार्य र जयाको कथा तथा सुशील देवकोटाको पटकथा रहेको फिल्ममा कर्ण कार्की निर्माताका रूपमा छन् । कर्णले यसअघि ‘होस्टेल ३’ निर्माण गरेका थिए । फिल्मका कार्यकारी निर्माता दीपेन्द्र गौतम हुन् भने धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह−निर्मातामा छन् । लाइन प्रोड्युसर सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल हुन् ।
कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा हरि हुमागाईंको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, ज्योति केसीको पोसाक डिजाइन तथा योगेश काजीको ध्वनि संयोजन रहनेछ । फिल्मको वितरण रोहित−रत्नको कम्पनी आरआर फिल्म्सले गर्नेछ । फिल्मको प्रदर्शन मितिबारे भने जानकारी गराइएको छैन । यद्यपि, फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष छ ।

