.jpg)
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा २’ प्रदर्शन हुन अब १६ दिन बाँकी छ । तर, फिल्मको छायांकन भने अझै पूरा भइसकेको छैन । तीन दिनअघि काठमाडौंको मूलपानीमा फिल्मको एक गीत खिचिएको थियो । अब केही महत्त्वपूर्ण दृश्यको छायांकनका लागि निर्देशक पन्त र अभिनेता पल शाह हङकङ पुगेका छन् ।
फिल्मको कथा वैदेशिक रोजगारीसँग सम्बन्धित भएकाले हङकङमा छायांकन गर्न लागिएको निर्देशक पन्तले जानकारी दिए । उनका अनुसार हङकङमा पल शाह र रिश्ता गुरुङ जोडिएका ‘ड्रामेटिक’ (भावनात्मक) दृश्यहरू खिचिनेछ । त्यसपछि केही दृश्य युरोपमा पनि खिचिने उनले बताए । हङकङमा फिल्मको छायांकनको व्यवस्थापन खुसी इन्टरटेनमेन्टले सम्हालेको छ ।
दसैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने फिल्मको टिजर र ‘अचेल किन कान्छी’ बोलको गीत सार्वजनिक भइसकेका छन् । दुवैलाई दर्शकले निकै रुचाएका छन् । टिजरले युट्युबमा रेकर्ड नै बनाएको छ । बुधबारसम्म ५० लाखभन्दा बढीले टिजर हेरिसकेका छन् । यो नेपाली फिल्मका टिजरले अहिलेसम्म पाएको सबैभन्दा धेरै भ्यूज हो ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा पल र रिश्तासहित विपना थापा, स्व. प्रदीप रावत (गजनी भिलेन), मलिका महत, आकाश श्रेष्ठ साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का, दीलिप अखेडा, बेगम नेपालीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले आमा−छोराको सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ ।

