.jpg)
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’को व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको छ । प्रदर्शनको तीन दिन निरन्तरको झरीले व्यापारमा ठूलो असर गरेको भए पनि मंगलबारदेखि हलमा दर्शकको चाप बढेको छ । मंगलबार ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटमा फिल्मले देशव्यापी ७० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको थियो ।
बुधबार (आज) पनि फिल्मको देशव्यापी अकुपेन्सी सुखद देखिएको छ । क्यूएफएक्स भक्तपुर, कीर्तिपुर सिनेप्लेक्स, एफक्यूब, बिग मुभिज, क्यूएफएक्स सिभिल, सिटी स्क्वायर, वान् सिनेमाजलगायतका काठमाडौंका हलमा बुधबार फिल्मको अकुपेन्सी ८० प्रतिशत हाराहारी छ । पोखरा, बुटवल, नेपालगन्ज, दमक, इटहरीलगायतका हलमा पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ ।
फिल्ममा दर्शकको चाप बढेसँगै मल्टीप्लेक्सहरूले शोमा पनि वृद्धि गरेका छन् । देशव्यापी ६० शोबाट प्रदर्शन सुरु गरेको फिल्मले बुधबार एक सयभन्दा बढी शो पाएको वितरक आशिष तामाङले जानकारी दिए । उनले बुधबारको अकुपेन्सी प्रदर्शनयताकै उच्च रहेकाले बिहीबारदेखि फिल्मले देशभर डेढ सयभन्दा बढी शो पाउन सक्ने बताए ।
हरि लम्सालको निर्देशनमा बनेको फिल्मलाई दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेको छ । फिल्म हेरेपछि विशेषगरी महिला दर्शकहरू हलबाट रुँदै समेत निस्किएका छन् । हरेक अभिभावकले आफ्ना सन्तानलाई ‘बा: एक योद्धा’ अनिवार्य देखाउनुपर्ने दर्शकहरूको प्रतिक्रिया छ । कतिपयले बुवाको कथामा बनेको अहिलेसम्मकै उत्कृष्ट नेपाली फिल्म समेत भनेका छन् ।
वसन्त लम्सालको लगानीमा बनेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतको अभिनय छ । फिल्मले सन्तानका लागि एक बाबुले गर्ने त्याग र संघर्षको कथा प्रस्तुत गरेको छ । बुवाको भूमिकामा दिव्यदेवको अभिनयले फिल्मलाई हेर्नलायक बनाएको छ ।

