Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन बिहीबार रिलिज गरिँदैछ ‘छत्तीसको आँकडा’ ?

फिल्मीखबर, काठमाडौं, 2026/09/29

rekha and nuruta

 

विश्वभर फिल्म शुक्रबार रिलिज गर्ने अभ्यास छ । नेपालमा पनि चाडपर्व वा सार्वजनिक विदाबाहेक शुक्रबार नै फिल्म रिलिज हुन्छन् । चलचित्र विकास बोर्डदेखि निर्माता संघसम्मले यो विषयमा निर्णय समेत गरेका छन् । तर, फिल्म ‘छत्तीसको आँकडा’ले भने शुक्रबार रिलिजको परम्परा तोड्ने भएको छ । यो फिल्मलाई बिहीबारको दिन प्रदर्शन गरिने भएको छ । 

सोमबार अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसरमा मंसिर १७ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको हो । यो मिति बिहीबार पर्छ । त्यस दिन अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परेको छ । सार्वजनिक विदा भने छैन । तर, उक्त मितिलाई विदासरह मानेर ‘छत्तीसको आँकडा’लाई बिहीबार नै प्रदर्शन गर्ने निर्णय गरिएको छ । 

रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको प्रदर्शन मिति तय भएसँगै अब प्रचार अभियान सुरु गर्ने तयारीमा निर्माण पक्ष छ । त्यसका लागि घटस्थापनाका दिन पहिलो गीत सार्वजनिक गरिँदैछ । फिल्मको फर्स्टलुक पोस्टर भने गत वर्ष नै सार्वजनिक भइसकेको छ, जसमा रेखा थापा र पूजा शर्माको टकराव देखाइएको थियो । 

सवीर श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रेखा र पूजासहित निरुता सिंह, महेश त्रिपाठी, पुष्प खड्कालगायतको पनि अभिनय छ । यही फिल्मबाट रेखा र निरुताले दुई दशकपछि सहकार्य गरेका हुन् । पछिल्लो पटक ‘दुई पल’मा उनीहरू एकसाथ देखिएका थिए । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्ने फिल्ममा दुई महिला पात्रको द्वन्द्वलाई मुख्य विषय बनाइएको छ ।