
अभिनेता विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जिरो डिग्री’ माघ १५ गतेबाट प्रदर्शन हुने भएको छ । मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । यसअघि फिल्म तिहारमा प्रदर्शन हुने भनिएको थियो । तर, तिहारमा स्वदेशी र विदेशी फिल्मको ठूलो भीडभाड हुने भएपछि निर्माताले फिल्मलाई तीन महिना पछाडि सारेका हुन् ।
सार्वजनिक पोस्टरमा विजय बराललाई मात्र स्थान दिइएको छ । ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा देखिएका उनी घोडामा सवार छन् । पिठ्यूँमा भने दुईवटा पंखा बाँधेका छन् । यसले फिल्ममा उनको पात्र अनौठो स्वभावको रहेको संकेत गर्छ । यसअघि सार्वजनिक टिजरमा उनी वडाध्यक्ष पुन्य चौलागाईँको भूमिकामा देखिएका थिए ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजयसहित सनिशा भट्टराई, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, रमेश बुढाथोकी, वसुन्धरा भुसाल, सुवर्ण थापा, सञ्जोग रसाइलीलगायतको अभिनय रहेको छ । फिल्मलाई सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् । ‘बेहुली फ्रम मेघौली’पछि उनीहरूको यो दोस्रो निर्देशकीय फिल्म हो ।
मोती कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई निशाल पौडेलले छायांकन गरेका हुन् । फिल्ममा चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन तथा अङ्कित बाबु अधिकारीको संगीत रहेको छ । फिल्मले सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा शवलाई सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने परिस्थितिलाई प्रस्तुत गरेको जनाइएको छ ।

