Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षको दौडमा निशासहित को−को छन् ?

फिल्मीखबर, काठमाडौं, 2026/09/24

film bord

 

गत भदौ १३ गतेदेखि चलचित्र विकास बोर्ड अध्यक्षविहीन छ । निवर्तमान अध्यक्ष दिनेशराज दाहाल (डिसी)को दुईवर्षे कार्यकाल सकिएपछि बोर्डले नयाँ अध्यक्ष पाउन सकेको छैन । यद्यपि, सरकारले दसैंअघि नै नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी थालेको छ । त्यसका लागि तालुकवाला निकाय सञ्चार मन्त्रालयले असोज १ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । 

असोज ७ गतेसम्मलाई तोकिएको समयसीमाभित्र १२ जनाले आवेदन दिएका छन् । त्यसमा निशा अधिकारी, नरेशकुमार पौडेल, मनिष पण्डित, जेनिश पहारी श्रेष्ठ, सुभाष कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा, नरेशकुमार केसी, डम्बरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र भगवतीकुमारी मैनाली रहेका छन् । 

अब मन्त्रालयले आवेदकहरूमध्येबाट ‘सर्ट लिस्ट’ गरी तीनजनाको नाम छनोट गर्नेछ । त्यसका लागि राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा चलचित्र विकास बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्म निर्देशक अशोक शर्मा सदस्य रहेको समिति गठन गरिएको छ । समितिले तीनजनाको नाम छनोट गरेर मन्त्रिपरिषद्‌मा पठाएपछि त्यसमध्येबाट एकजना बोर्ड अध्यक्ष हुनेछन् ।

यसअघि बोर्ड अध्यक्षका लागि आवेदन आह्वान र छनोट प्रक्रिया देखाउने दाँत मात्र हुने गरेको थियो । नियुक्ति भने प्रधानमन्त्री वा सञ्चारमन्त्री निकट फिल्मकर्मीलाई गरिन्थ्यो । कतिपय अवस्थामा अध्यक्ष पद राजनीतिक भागबन्डामा समेत पर्ने गरेको थियो । तर, यसपटक बिल्कुलै नयाँ सरकार भएकाले अध्यक्ष नियुक्ति कति निष्पक्ष हुन्छ भन्नेमा धेरैको चासो छ ।