.jpg)
पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको मुख्य भूमिका रहेको फिल्म ‘अक्षरा’ गत भदौ २६ गते प्रदर्शनको तयारीमा थियो । फिल्मको बुकिङ समेत खुला भइसकेको अवस्थामा रसुवा बाढीको कारण देखाउँदै मंसिर २४ गतेलाई नयाँ प्रदर्शन मिति तय गरियो । तर, अब फिल्म दसैंको छेको पारेर असोज २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
मंगलबार फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । दुईमध्ये एक पोस्टरमा न्यान्सी र सुशील सिटौला देखिएका छन् । उनीहरूको बीचमा आगो बलिरहेको दृश्य राखिएको छ । यसले उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको दर्साउँछ । दोस्रो पोस्टरमा न्यान्सी र सुशीलसहित रिस्ता बस्नेत, उत्तम केसीलगायत चित्रित छन् ।
विनयराज पौडेलको डेब्यू निर्देशनमा बनेको यस फिल्ममा न्यान्सी र सुशीलसहित रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गाना, त्रिलोचन न्यौपानेलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको रूपमा छन् । कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्ममा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन तथा गौतमराज खड्काको सम्पादन रहेको छ ।

