
गत शुक्रबार (९ असोज)बाट प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘आचार्य’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी पूर्णिका सिजापति अब नयाँ फिल्म ‘हाम्रो सानो घर’मा देखिने भएकी छन् । सुमन गजमेरको निर्देशनमा बन्न लागेको फिल्ममा उनलाई यसै साता मुख्य भूमिकामा अनुबन्धित गरिएको हो । उनको भूमिकाबारे भने निर्माण पक्षले खुलाएको छैन ।
पूर्णिका मोडलिङ क्षेत्रमा परिचित नाम हुन् । उनले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा सुरु गरेकी थिइन् । कक्षा ११ मा अध्ययन गर्दै गर्दा मोडलिङमा प्रवेश गरेकी उनले ‘फेस अफ टिन २०२१’ र ‘फेस अफ क्लासिक डायमन्ड २०२४’को उपाधि समेत जितेकी छन् । ‘आचार्य’बाट डेब्यू गर्नुअघि उनले केही म्यूजिक भिडियोमा अभिनय पनि गरेकी थिइन् ।
दशैंपछि छायांकन सुरु हुने फिल्ममा पूर्णिकाबाहेक अरु कलाकार अनुबन्धित भएका छैनन् । अहिले कलाकार र प्राविधिक छनोटको काम भइरहेको निर्देशक गजमेरले बताए । उनका अनुसार फिल्ममा जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र जेनजी पुस्ताका आकांक्षालाई प्रस्तुत गरिनेछ । फिल्ममा दर्शकले फरक स्वादको प्रेमकथा पाउने उनको दाबी छ ।
यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका सुमनले ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म लेखन तथा निर्देशन विषयमा स्नातक अध्ययन पूरा गरेका छन् । ‘रंगी’, ‘एक्का तीन: च्याप्टर १’, ‘शेर्वा’, र ‘भित्ते पात्रो’ जस्ता फिल्ममा लेखकको रूपमा काम गरिसकेका उनी ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’मा सहायक निर्देशक समेत थिए ।

