Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म क्षेत्रलाई अर्को झट्का : रोकियो ‘कृष्ण लीला’ रिलिज

फिल्मीखबर, काठमाडौं, 2021/04/01
 
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा उच्च सतर्कता अपनाइएको छ । संक्रमणको जोखिम न्युनीकरणको लागि सरकारले सभा, सम्मेलन, भेला जस्ता कार्यक्रमहरु नगर्न आग्रह गरेपछि मानिसहरुको भीडभाड रहने सिनेमा हलमा फेरि दर्शक पातलिन थालेका छन् । जसका कारण प्रदर्शन मिति घोषणा गरिएका फिल्महरु भकाभक पोस्टपोन्ड भइरहेका छन् ।
 
सरकारले सिनेमा हलमा लगाएको ५० प्रतिशत अकुपेन्सीको बन्देज नहटाए पनि चैत २७ गतेलाई तीन फिल्म ‘कृष्ण लीला, लप्पन छप्पन २ र मनसँग मन’ ले प्रदर्शन मिति घोषणा गरेका थिए । तर, संक्रमण बढ्न थालेपछि अब यो मितिमा तीनै फिल्म प्रदर्शनमा नआउने भएका छन् । ‘लप्पन छप्पन २ र मनसँग मन’ पछि ‘कृष्ण लीला’ ले बिहीवार अनिश्चितकालका लागि रिलिज रोकेको छ ।
 
फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले हल व्यवसायीहरुको साथ नपाएका कारण रिलिज स्थगित गरेको बताए । उनले भने- ‘हामी चैत २७ मा फिल्म रिलिज गर्न तयार नै थियौं । तर, हल व्यवसायीहरुसँग लगानी सुरक्षित हुने वातावरण बनाउन गरिएको आग्रहलाई वेवास्था गरियो । हामी पनि करोडौंको लगानीमा रिक्स उठाउन सक्दैनौं । त्यसैलै रिलिज स्थगित गर्नुको विकल्प रहेन ।’
 
उपत्यका बाहिर हलहरु नखुल्ने अवस्था भएकाले पनि रिलिज रोक्नु परेको उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘कोरोनाका कारण फेरि लकडाउनको हल्ला छ । त्यसका कारण हलमा दर्शक आउने नआउने टुंगो छैन । बलिउड फिल्महरु पनि सरेको सर्‍यै छन् । त्यसैले तत्काल रिलिज गर्नु करोडौंको लगानीमाथि रिक्स उठाउनु मात्र हो । अब स्थिति सामान्य नभएसम्म पर्खिन्छौं ।’
 
कोरोना महामारीले धरासायी अवस्थामा पुगेको फिल्म क्षेत्रलाई ‘कृष्ण लीला’ ले केही हदसम्म चलायमान बनाउने धेरैको अपेक्षा थियो । तर, यो फिल्मको पनि रिलिज पोस्टपोन्ड भएपछि फिल्म क्षेत्रलाई ठूलो झट्का लागेको छ । दीपक ओलीको निर्देशनमा बनेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । फिल्मको ट्रेलर र दुई गीत यूट्युबमा सार्वजनिक भइसकेको छ ।
Most Visited News (monthly)