Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रै जात्रा’ को शो बढेको बढ्यै, उत्रियो ‘बीर विक्रम २’

फिल्मीखबर, काठमाडौं, 2019/05/31
प्रायः नेपाली फिल्मलाई पहिलो हप्ता पनि हलमा टिक्न मुश्किल पर्छ । कति फिल्म त दर्शक अभावका कारण पहिलो शोबाटै उत्रिन्छन् । बक्सअफिसमा लोभलाग्दो व्यापार गर्ने फिल्म पनि दोस्रो वा तेस्रो साताबाट ओरालो लाग्न थाल्छन् । तर, गएको जेठ ३ गते प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले भने आक्रामक व्यापारलाई तेस्रो हप्ता पनि निरन्तरता दिने देखिएको छ । 
 
प्रदर्शनको तेस्रो हप्ताबाट फिल्मलाई हल संख्या कम हुँदै जान्छ । ‘जात्रै जात्रा’ ले भने पहिलो हप्ताको तुलनामा तेस्रो हप्ता झन् बढी हल पाएको छ । फिल्मले सिंगल पर्दा ३ दर्जन बढी पाएको थियो, पहिलो हप्ता । दोस्रो हप्ता एक दर्जनको आसपासमा बढ्यो । तेस्रो हप्ता फिल्मले दुई दर्जन बढी हल बढाएको छ । यो फिल्मको हल संख्या बढ्नुको कारण सँगै प्रदर्शनमा आएको फिल्म ‘बीर विक्रम २’ ले अपेक्षाकृत व्यापार नगर्नु हो । 
 
 
तेस्रो साताबाट अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर फिल्म ‘बीर विक्रम २’ प्रायः सिंगल पर्दाबाट उत्रिएको जानकारी प्राप्त छ । राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरुले पनि यो फिल्म हटाएर ‘जात्रै जात्रा’ लाई शो थपेका छन् । प्रदर्शनको पहिलो दिन क्यूएफएक्स चेनमा १९ सोज पाएको यो फिल्मले तेस्रो हप्ताको पहिलो दिन २१ सोज हात पारेको छ । शनिवार पनि फिल्मलाई २१ शो नै छ । 
 
यो फिल्मलाई तेस्रो हप्ता पनि बिग मुभिज, विएसआर मुभिज, एफक्यूब र सिडिसीले समान ५/५ शो उपलब्ध गराएका छन् । मल्टीप्लेक्सहरुले यसलाई तेस्रो हप्ता पनि उच्च सोज बाँड्नुले ‘जात्रै जात्रा’ ले प्रदर्शनको दुई हप्ता आक्रामक व्यापार गरेको छर्लङ्ग हुन्छ । फिल्मले तेस्रो हप्ता पनि बक्सअफिसमा राम्रो पैसा छाप्ने फिल्म पण्डितहरुको अनुमान छ । 
 
यसलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । यो फिल्म हिट भएसँगै उनले सफल निर्देशकको रुपमा ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित फिल्म 'जात्रा' र 'शत्रु गते' पनि बक्सअफिसमा सुपरहिट साबित भएका थिए । ‘जात्रै जात्रा’ लाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको यसमा अभिनय छ । 
Most Visited News (monthly)